काठमाडौं। नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका छन्। माओवादी संसदीय दलको सिंहदरबारमा बिहीबार बसेको बैठकले दलको नेतामा प्रचण्डको नाम सर्वसम्मले पारित गरेको हो।
त्यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको थियो। माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि संसदीय दलको नेता चयन गरेको हो। साथै, प्रमुख सचेतकमा हितराज पाण्डेलाई चयन गरेको छ। प्रमुख सचेतकमा पाण्डे निर्विरोध चयन भएका हुन्।
त्यस्तै राष्ट्रियसभाको दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन भएका छन्। प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्वासे नियुक्त भइसकेका छन्। बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो।





















