फाईल फोटो
काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक्तिसमेत पक्राउ परेका छन्।
गुल्मीको मदाने गाउँपालिका–२ र ५ बाट बेवारिसे अवस्थामा दुई नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ। तीमध्ये एउटा साबुत र अर्को बेसाबुत अवस्थामा रहेको छ।
यस्तै कपिलवस्तुको विजयनगर गाउँपालिका–५ जगदीशपुरबाट एअर पेस्तोलको नालसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २३ वर्षीय आशिष पाण्डे, २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेका छन्।
बन्दुक देखाएर कृष्णनगर गाउँपालिका–८ बहादुरगञ्जका स्थानीयलाई डरधम्की दिएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उता प्युठानको झिमरुक गाउँपालिका–४ चापापानीस्थित सामुदायिक वनको ओडारमा लुकाएर राखिएको अवस्थामा पाँच थान भरुवा बन्दुकका नाल फेला परेका छन्।
त्यसैगरी नौबहिनी गाउँपालिका–२ डाँडाकटेरीस्थित मनकामना सामुदायिक वनमा पनि बेवारिसे अवस्थामा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विभिन्न स्थानबाट गरी १५ थान भरुवा बन्दुकका नाल नियन्त्रणमा लिइएको छ। बरामद हतियार प्रहरी कार्यालयमा ल्याएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।





















