जब मैले नर्सिङ अध्ययन गर्न फाराम भर्न नर्सिङ कलेज गए त्यही दिन म धेरै छोरीमान्छेहरुको जमात देखेर झस्केको थिए। नर्सिङमा अध्ययन गर्न भर्ना नगरौं भन्ने भित्री अनुभूति हुन गयो त्यसै फर्किंदै थिए त्यहाँ आमाको साथी भेट हुन गयो, उहाँले अध्ययन गर्नु भविष्य राम्रो छ भन्नु भयो।
उहाँ आमाको साथी, अति सहयोगी छिमेकी साथै स्वास्थ्य कर्मी अनमी भई सेवा प्रदान गर्नु भएको हुनाले उहाको परामर्श नर्सिङ जोइन हुनबाट आफुलाई वञ्चित गराउन सकिएन, एक आज्ञाकारी बालक झै खुरु खुरु आज्ञापालन गरी फाराम भरेर आए।
एक्लै कोठा लिएर बस्नु पर्यो, छोरी मान्छेहरुलाई होस्टेलको व्यवस्था थियो तर छोरा मान्छे भएकोले हामीलाई होस्टेलको व्यवस्था त्यो बेला हुन सकेन तर एक वर्ष पश्चात मात्र होस्टल पाइयो।
पढाइको दौरान धेरै हन्डर खाइयो, कति कुरोमा कडा विरोध जनाईयाे जसको कारण अरु सहकर्मी महिला साथीहरू भन्दा अभ्यासमा (practical number) अति कम नम्बर पाइने गरिन्थ्यो। त्यहाँ अस्पतालमा अभ्यासको क्रममा नर्सिङ प्रति अति विभेदकारी व्यवहार देखिएकोले स्पष्ट रुपमा भन्नु पर्दा मलाई विद्रोही नै बनायो यस पेशाको अध्ययन गर्नाले, कसरी बाहुल्य महिला भएको पेशामा श्रम र लगानीको उचित न्याय दिलाउन सकिन्छ भन्ने जुनुन नै पलायो। सकेसम्म मिलाएर सृजनात्मक तवरले प्रजातान्त्रिक अभ्यासबाट नै नर्सिङ पेशालाई सम्मानित र उच्च स्तरको पेशा बनाउने तर्फ अग्रसर भईयो।
अरुहरु कसरी अभ्यासको क्रममा म्याम र सरको मन जित्ने र बढी अंक ल्याउने ध्यान केन्द्रित गर्दथे भने आफु कसरी यस पेशामा आत्म निर्णयमा स्वाधीन, समाजमा सम्मानित बनाउने, यस्तै स्वास्थ्य सेवा प्रणालीमा यस नर्सिङ पेशा कर्मी भएको कारणले ठाडो उच्च शिर बनाउन सक्ने वातावरण सृजना गर्ने भन्नेमा लागि रह्यो। सायद मेरो घरको माहौल पनि त्यस्तै उच्च सम्मानित, जुधारु, हिम्मतवाला भएर पनि हुन सक्दछ, कान्छो सबैको माया अति पाएर पनि हुन सक्दछ कोहीसँग नडराउने, जस्तो जुकै जोखिम मोल्न पनि पछि नहट्ने स्वभाव नै थियो।
अहिले आएर यो एक हदसम्म मूर्खता नै हो भन्ने लाग्दछ, दोश्रो वर्ष कम्युनिटी फिल्ड पोखरीया गाको बेला त्यहाँको इन्चार्ज हेल्थ असिस्टेन्टको गलत प्रस्तुती बिरुद्द एक्लै भए पनि भिडेको नै थिए, त्यो बापत हाम्रो निगरानी र मूल्याङ्कन गर्न जानु भएको म्याडमसंग पनि यो विषय प्रति भिड्नु नै परेको थियो।
त्यस्तै धरान विपि कोइराला प्रतिष्ठानमा जागिर खाने दौरानमा त्यहाँ नर्सिङ स्टाफ प्रति गरेका गलत व्यवहार बिरुद्द भिड्न पछि परिएको थिएन। वि एन महाराजगन्जमा अध्ययन गर्दा तत्कालिन आपातकालीन सेवा विभाग (Emergency) मा गरिएको नर्सिङ पेशा प्रति अभद्र व्यवहार होस वा नर्सिङ विद्यार्थी भएको सन्दर्भमा त्यहाँको स्टाफले गरेको अभद्र व्यवहार प्रति खुलेर भिडेको नै थियो।
त्यस्तै दक्षिण भारत माङलोर होस वा निमह्यानस् बैंगलोरमा होस नर्सिङ पेशाको लागि म अरूको देशमा स्नाकोत्तर विद्यार्थीको रुपमा छु भन्ने कुरो हेक्का नराखी भिडेको नै थियो।
त्यस्तै नर्सिङ सङ्घको केन्द्रीय सदस्य सदस्यको हैसियतले नेपाली नर्सहरुको लागि कसैले नबोल्दा, सहयोग नगर्दाको अवस्थामा व्यक्तिगत जोखिम माेलेर पनि कार्य गरिएको नै छ। स्कूल हेल्थ नर्स स्थापित गर्न होस वा नर्सिङ सम्बन्धी समस्या सुल्झाउन खटाएको स्थान सप्तरी राजविराज, वीरगन्ज,हेटौडा, चितवन, पोखरा, बुटवल र मन्त्रालयमा खटिएको नै थियो। त्यस्तै बाढी पीडित होऊन् वा भूकम्प पीडित होऊन् वा tornado पीडित होऊन्, केन्द्रले खटाइएको समयमा दिन रात नभनी खटिएको नै थियो। त्यस्तै वरिष्ठ उपाध्यक्षको हैसियतले सिटिइभिटीका विद्यार्थीहरुले अध्ययन गर्न निरन्तरता नपाएको बेला होस वा बी एन अध्ययन गर्न सरकारी कोटामा पाइने छात्रावृत्ति नपाइएको बेला होऊन्, त्यो दिलाउन सक्षम भइएको नै थियो।
त्यस्तै खुलेर मेरो बिरुद्द मीडियामा बदनाम गराऊने, गाली गलौज गरिंदा पनि र त्यस बखत मेरा कार्य समितिले मैले अनुभूति गर्ने गरी बचाव नगरीन्दा पनि एक्लै त्यसको डटेर सामना गरेको नै थिए। कोरोनाको उच्च प्रथम लहराको बेला नेपाली नर्सहरुको आत्म सम्मान बढाउन, एक अर्काबीच सहकार्य बढाउन देश विदेश चारै तिर छरिएर रहेको नर्सहरुसंग छलफल चलाउन गरिएको जमर्को बिरुद्द हाल उच्च ओहदामा रहेका सिनियर नर्सले कुन हैसियतले सान र नानको संयुक्त कार्यक्रम सञ्चालन गर्दछौं, त्यो नगर भनेर मेरो नर्सिङ प्रतिको विश्वास र लगावमा सुनियोजित प्रहार गरिंदा पनि अलिकति पनि विचलित नभई कार्यक्रम सञ्चालन गरिएको नै थिए। त्यस्तै देशका विभिन्न स्थानमा कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका नर्सहरुको नकारात्मक सोच र डर कम गराउन दिन रात खटि निरन्तर सम्पर्कमा रहनु पर्ने अवस्था थियो ।
विराटनगर, धरान, काठमांडू, पोखरा, चितवन, धनगढी आदिमा सृजित सरकार विरोधी सुनियोजित आन्दोलन त्यो पनि कोरोना अति उच्च तवरले सलबलाई रहेको बेला आम नागरिकलाई पूर्ण सुरक्षित र सरकारको निगरानीमा प्रत्यक्ष राखिनु पर्ने समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लगायत स्थानिय र प्रदेश सरकारसंग साथै केन्द्रीय कार्यालयहरु संग समन्वय गरी दिनरात कार्य गरिनु परेको थियो।
त्यति मात्र कहाँ हो र कोरोनाको भय उच्च भएको बेला आफु कार्यरत संस्थामा भएको केही तीतो सत्य तथ्य समाचार र केही बदनाम गराउने रणनिती सहित बजारमा फैलाईएको समाचार प्रति मेरो प्रत्यक्ष संलग्नता छ भन्ने गलत व्यवस्थापनको ठम्याई प्रति पनि अलिकति पनि विचलित नभई एक्लै प्रतिवादमा उभिनु परेको थियो।
त्यस्तै कोरोनाको समयमा देशव्यापी भएको नकारात्मक संदेश बिरुद्द ढाल बनी उभिएको थिए। आफ्नै कार्यरत संस्थामा सुनियोजित तवरले आन्दोलन गर्न बुनिएको चक्रव्यूह तोड्न एक्लै ठूलो जोखिम मोलेर होमिएको थिए। त्यो बेला व्यवस्थापनको बोलावटलाई बेवास्ता गर्दै एक्लै आफ्नो सोच र रणनीति अनुरुप भिडेको थिए।
त्यो बेला व्यवस्थापन पक्षलाई म प्रति अति नकारात्मक सोच विकास भएको हुनु पर्दछ तर संस्थाको लागि व्यक्ति म स्वम एक्लै राम्रो हुने अवस्था थिएन। संस्था र यहा कार्यरत आम स्वास्थ्यकर्मी लगायत उहाँहरु संग आबद्ध घर परिवार साथै समाज बचाउनु पर्ने ठूलो अभिभारा थियो। त्यो बेला जुम मीटिंग मार्फत नेपालका विभिन्न जिम्मेवार व्यक्तिहरुसँग प्रत्यक्ष छलफल गरिनु पर्ने अवस्था सृजना भएको थियो। त्यस्तै भेरी अस्पताल नेपालगञ्जमा भएको अति बर्बर जंगली अमानवीय घटना प्रति कडा निर्णय लिन बाध्य थियो, त्यहाँका स्वास्थ्यकर्मीहरुको उच्च मनोबल कायम गर्दै त्यहाको गलत कार्य प्रति पेशागत कारवाही गराउनु पर्ने थियो।
स्थानिय निकाय गली सकेको अवस्थामा यही भरतपुरबाट सक्दो सहयोग गरिएको थियो जसको प्रत्यक्ष अनुभूति डाक्टर लोचन कार्की र त्यहाँका स्थानीय व्यक्तिहरुले गरेका थिए।
यसरी सम्झन्छु के एक्लै मैले मात्र नर्सिङ पेशाको जिम्मा लिनु पर्दछ र? अरु छैनन्? के म महामूर्ख हु र??
म पछि यस संस्थामा आबद्ध हुनेहरू ठूला ठूला पद लिन सफल भाका छन्, धेरै तलब बुझ्न सफल भाका छन्, व्यवस्थापकको नजरमा अति राम्रा भाका छन्, व्यक्तिगत विकासको लागि आफ्नै कार्यमा अति व्यस्त भाका छन्, तर म मात्र महामूर्ख हु र?? नर्सिङ पेशाको उत्थानको लागि, कहिले निकास नपाउने महिला मात्र लगभग सत प्रतिशत बाहुल्य भएको पेशाको लागि दिनरात खटिरहेको छु। के वास्तवमा म महामूर्ख हो??
कतिपय स्थानमा यस पेशाको मर्यादा बचावको लागि साथमा काम गर्ने अन्य स्वास्थ्य कर्मी संग प्रतिवादमा उत्रनु परेको छ। आफै कोरोनाले अति सिकिस्त बनाएको बेला एभि न्युजका बानियाँ जीको अन्तर्वार्तामा उत्रनु परेको छ, विपि धरानमा गरिएको विभेदबारे प्रत्यक्ष त्यहाको अस्पतालका आधिकारिक व्यक्तिसंग छलफल चलाउनु परेको छ जबकि राम्रोसँग बोल्न सक्ने स्वास्थ्य स्थिति पनि थिएन।
त्यस्तै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका अधिवेशन गराइयो, धेरैलाई सम्मानजनक पदमा सिफारिस गरियो तर मैले कुनै पनि पद लिएको छैन। के म महामूर्ख हो र?
कोही रगतको नाता, त कोही ससुरालीको नाता, त कोही पार्टी र नेताको नाताले आफ्नो वर्चस्व देखाउने गर्दछ, हैसियत नभएकोले पनि हैकम जनाउने गर्दछ तर म महामूर्ख त्यो कुनै पनि यो क्षेत्र भित्र पर्दिन्न।
त्यसैले कहिले प्रश्न गर्न मन लाग्दछ, के म नर्सिङ पेशाकर्मी भित्र महामूर्ख हुँ र ?
हो नर्सिङ सेवा मार्फत आम मानिसहरूलाई स्तरीय र सुपथ मूल्यमा स्वाथ्य सेवा प्रवाह गर्ने सकिन्छ भन्ने मेरो ठम्याई छ। त्यस्तै छोरी चेलीहरु मार्फत असम्भव पनि सम्भव गर्न सकिन्छ, उहाँहरुलाई सुरक्षित र सम्मानित बनाउन नर्सिङ पेशालाई मर्यादित बनाउनु पर्दछ। त्यसैको लागि म महामूर्ख हुन पुगेको छु, व्यक्तिगत स्वार्थ विहिन यो कार्यमा होमिएको छु। कसैले उच्च अध्ययनको सर्टिफिकेट लिन, कसैले पद र पैसा कमाउन धेरै नर्सिङ पेशाको मर्यादा विपरित काम कुरो गर्न पछि पर्दैनन्, हो उनीहरूको नजरमा म महामूर्ख ठहरिन सक्दछु।
यहाँ सम्म की वर्तमान अवस्थामा साथमा रहेको अध्यक्ष शुद्धको साथ पाइएको छैन, उल्टै गलत व्यवहारको सामना गरी रहनु परेको छ।
अहिलेको चुनौती यो इतिहास बोकेको नर्सिङ संघलाई सक्रिय बनाउनु छ। यसमा आगामी अध्यक्ष पदको लागि आफुलाई नै मैदानमा उतार्नु पर्ने ठूलो चुनौतीको सामना गर्नु परेको छ, साथमा उच्च मनोबल भएको र नर्सिङ गहिरो रुपमा मज्जाले बुझेको र आइटी जान्ने नर्सहरूको समूह तयार गर्नु पर्ने अर्को ठूलो चुनौती पनि छ। यो पुरानो तवरले नर्सिङ सङ्घ चल्दैन, पद लिने अनि त्यसको गलत प्रयोजन गर्ने समूह अन्त्य गराउनु छ।
नत्र आफै केन्द्रको नर्सिङ सङ्घको अध्यक्ष हुने र त्यस पछि आफ्नो वर्चस्व निरन्तर रुपमा कायम गर्न “गो नान” खोल्न लगाउने अवस्था सृजना नभएको होइन जुन नर्सिङ सङ्घलाई अवमूल्यन गरिने कार्य गर्दछ। त्यस्तै नर्सिङ पेशाकर्मीहरुले “हो हजुर, हस हजुर, हुन्छ हजुर” भन्नु पर्ने यानिकी “हो नान” बन्नु पर्ने अवस्था छ भने अर्को नर्सिङ सङ्घ प्रति नकारात्मक हल्ला फैलाउने, कसैलाई पनि भो सदस्यता लिनु पर्दैन, भो यसको पछि किन लाग्ने, भो यसको कुरो किन सुन्ने भनी हल्ला फैलाउने र चुनावको ताका अति भो, यस्तालाई बिदा गरौँ भन्दै अगी बढ्ने “भो नान” बनेको अवस्था।।
यही कुरोको पर्दाफास गरिंदा वरिष्ठ उपाध्यक्ष धेरै पटक आफुलाई उपेक्षित र बदनाम गराइएको अनुभूति गरेको पनि छ।





















