चितवन / वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पुर्ण रुपमा सञ्चालनमा आएको छ । लकडाउनको सुरुवाति चरणमा केही प्रभावित भएका सेवा क्रमशः पुर्ण रुपमा सञ्चालनमा आउन थालेको अस्पतालका उपनिर्देशक डा.कृष्णसागर शर्माले जानकारी दिनुभयो ।
‘लकडाउनमा विरामीको संख्या कम हुँदा फुल फेजमा सेवा सञ्चालन हुन सकेको थिएन् । लकडाउन खुकुलो भएसंगै विरामीको संख्या बढेको छ,’ उपनिर्देशक डा.शर्माले भन्नुभयो, ‘अहिले लकडाउन अघिको जस्तै फुल फेजमा आउन थालेको छ ।’
क्यान्सर अस्पतालमा दैनिक तीन सयको हाराहारीमा विरामी आउन थालेका छन् । लकडाउनको पहिलो महिनाको तथ्याङ्क हेर्ने हो दैनिक सय जना भन्दा कम विरामी आउने गरेका थिए । ‘अहिले ओपिडिमा दैनीक तीन सय जति विरामी आएका छन् । ७० प्रतिशत बिरामी भर्ना भएका छन् ।’ उहाँले भन्नुभयो, ‘आएका विरामी बेड नपाएर फर्केको अवस्था पनि छैन । चेकअप भइरहेको छ ।’
रेडियोथेरापि र केमोथेरापी, शल्यकृया सेवा समेत पुर्ण रुपमा सञ्चालनमा छन् । ‘लकडाउनको सुरुवात देखि नै केमोथेरापि सेवा पुर्ण रुपमा सञ्चालनमा थियो । त्यतिखेर पनि दैनिक १सय २६ जनाको केमोथेरापि हुने गरेको थियो ।’ उहाँले भन्नुभयो, ‘कोरोनाको उच्च जोखिम हुने इन्डोसकोपि सेवा समेत पुर्ण रुपमा सञ्चालनमा छ ।’
लकडाउनको बिचमा केही समय रेडियोथेरापि सेवा बन्द रहेको थियो । अहिले नियमिति रेडियोथेरापी भइरहेको छ । यहाँ दैनिक ९० जनाको हाराहारीमा थेरापि हुने गरेको छ । अस्पतालले ठुला शल्यक्रिया समेत नियमित गर्दै आएको छ । यहाँ दैनिक १२ वटासम्म अप्रेसन भईरहेको उहाँले जानकारी दिनुभयो । क्यान्सरमा ८ वटा अप्रेसन कक्ष रहेका छन् ।
सरकारले आधा कर्मचारी प्रयोग गरेर सेवा सञ्चालन गर्न भनेपनि विरामीको संख्या बढ्दै गएपछि सवै कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई काममा बोलाईएको डा.शर्माले बताउनुभयो । अहिले आकस्मिक सेवा सञ्चालनमा छ । यहाँबाट दैनिक ७०देखि ८० जनाले सेवा लिइरहेका छन् ।
अस्पतालमा सेवा लिन आउने विरामीको सुविधा र उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमा समेत ध्यान दिई दैनिक रुपमा आरडिटि र पिसिआर विधिद्धारा कोरोना परीक्षण हुने गरेको छ । उच्च जोखिममा रहेका ठुला शल्यक्रिया गर्नुपर्ने, ब्लड क्यान्सर लगायत लामो समय ज्वरो आएका विरामी, घाँटी र छातिमा समस्या देखिएका विरामीलाई छुट्टाएर आरटिपिसिआर टेष्ट गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।
उच्च जोखिम क्षेत्रबाट आउने र केमोथेरापी लगायत अन्य सेवा लिने विरामीहरुका लागि छनोट गरी आवश्यक विरामीलाई आडिटि विधिबाट परीक्षण गरिने गरिएको शर्माले बताउनुभयो । यहाँका दुवै जाँचहरु स्वास्थ्य मन्त्रालयको समन्वयमा भइरहेका छन् । आरडिटि परीक्षण लागत मुल्यभन्दा पनि कम रकममा जाँच भइरहेको उहाँले बताउनुभयो । यहाँबाट दैनिक ४० देखि ५० जनामा कोरोना परीक्षण हुने गरेको छ ।
अहिलेसम्म क्यान्सर अस्पतालमा उपचार गर्न आएका तीन जना विरामीमा कोरोना पोजेटिभ देखिएको छ । अस्पतालमा कोरोना पोजेटिभका विरामी भेटिएपनि उच्च सावधानिका साथ नियमित सेवा सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । पोजेटिभ देखिएका विरामीको सम्पर्कमा आएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर टेष्ट गरिने गरिएको छ । अहिलेसम्म परीक्षण गरिएका सवैको रिपोर्ट नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो ।
क्यान्सर अस्पतालमा भारत देखिका विरामी आउने गरेका छन् । यहाँ सामान्य दिनमा दैनिक ६सयको हाराहारीमा विरामी आउने गर्दछन् । अस्पतालमा ४ सय ५० बेड रहेको छ ।





















