भरतपुर / हाम्रो मझेरी साहित्य प्रतिष्ठान २२औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानले विभिन्न कार्यक्रमहरू अगाडि सारेको छ । हाम्रो मझेरीले विशेषगरी नयाँ सर्जकहरूका लागि अवसर प्रदान गरेको छ । गजलविद् डा. घनश्याम न्यौपाने परिश्रमीले हाम्रो मझेरीले बाटो खोजेका स्रस्टाहरूलाई हात समातेर अगाडि बढाएको बताए ।
शुक्रबार साँझ भरतपुरमा आयोजित गजल सन्ध्या कार्यक्रममा प्रमुख अतिथि रहेका परिश्रमीले भने- `मोफसलमा रहेर पनि हाम्रो मझेरीले सरकारले गर्नुपर्ने काम गरिरहेको छ ।´ नयाँ स्रस्टाहरूका लागि मझेरी मियो बनेर लागिरहेको उनले बताए । `मझेरीले थुप्रै नयाँ स्रस्टाहरूलाई साहित्य फाँटमा स्थापित गराएर राखेको छ´ उनले भने- `स्रस्टाहरूको हितमा रहेर अभिभावक बन्दै अभियान थालेकोले मझेरीले यहाँसम्मको यात्रा तय गर्न सफल बनेको हो ।´
हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलीले हाम्रो मझेरी सदैव स्रस्टा र साहित्यको सम्मानका लागि लागिपरेको बताए । `विशुद्ध साहित्यको सेवा र स्रस्टालाई अवसर दिनु हाम्रो धर्म हो´, अध्यक्ष अञ्जलीले भने- `स्रस्टाको माया र विश्वासले मझेरी यहाँसम्म आइपुगेको हो ।´ हाम्रो मझेरीले वार्षिकोत्सवका अवसरमा शनिबार भरतपुरमा वृहत् कार्यक्रम गर्दैछ । कुल ९ वटा साहित्यिक कृतिहरूको विमोचन सँगसँगै विभिन्न स्रस्टाहरूलाई सम्मान र रचना वाचनको कार्यक्रम समारोहमा हुनेछन् ।
वार्षिकोत्सवको पूर्वसन्ध्यामा भरतपुरमा गरिएको कार्यक्रममा थुप्रै स्रस्टाहरूले गजल सुनाएका छन् । कार्यक्रममा सर्वहारा दीपक, तीर्थराज खनाल, रवीन्द्र कार्की, अजित क्षेत्री, विशाल विरक्ती, राजन वास्तोला, आइपी सापकोटा, किसन पौडेल, पार्वती अर्याल, हरिप्रिया रिजाल, अस्मिता दाहाल, अतीत आचार्य, मीरा बराल, राधा भुजेल सावित्री गिरी , अम्बिका कार्कीले गजल सुनाए ।
त्यसैगरी खडानन्द तिमिल्सिना, अन्जु सापकोटा अनु, राजन अधिकारी, केशु खनाल पोखरेल, सुरेन्द्र अस्तफल, वसन्त पराजुली, सूर्यप्रसाद लाकोजूले पनि गजल प्रस्तुत गरे । स्थानीय गजल गायक निर्दोष जीवनले विभिन्न स्रस्टाका गजलहरू गाएर उपस्थित माहोललाई थप मनोरञ्जन दिए । भरतपुरस्थित सनराइज होटलमा गरिएको गजल सन्ध्या कार्यक्रममा अम्बिका कार्कीले स्वागत मन्तव्य दिएकी थिइन् भने लेखराम सापकोटाले कार्यक्रमको सहजीकरण गरेका थिए ।






















