गोरखा / पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले निर्वाचनले मात्र समस्याको समाधान नहुने बताएका छन् ।
गोरखा सदरमुकाममा शुक्रवार पत्रकार भेटघाट कार्यक्रममा उनले अघिल्लो संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार दिँदा बहुमतको सरकार पनि ५ वर्ष टिक्न नसकेकाले स्थिर सरकारका लागि अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिएको दाबी गरे ।
जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष समेत रहेका भएका पूर्वप्रधानमन्त्री डा.भट्टराईले सर्वोच्च अदालतले संसद् विघटनलाई खारेज गरिदिए समस्याको समाधान सजिलो ढङ्गले हुने बताए ।
संविधान निर्माणका क्रममा यस्ता खालका समस्याको समाधानका लागि संविधानमा नै संवैधानिक अदालतको व्यवस्था गर्नुपर्छ भन्ने पक्षमा आफूहरुको अडान भए पनि अहिलेको संविधानमा त्यस्तो व्यवस्था गर्न नसकिएकाले अहिले अभाव खड्किएको डा.भट्टराईको भनाइ थियो ।
उनले अहिलेको समस्या समाधानका लागि सबै पक्ष, राजनीतिक दल एक हुनुपर्छ भन्ने पक्षमा जसपाको चाहना रहेको बताए ।





















