चितवन / जखडी माई सलहगानी खानेपानी तथा सरसफाई आयोजनाको ओभरहेड ट्यांकीको शिलान्यास भएको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर ११ जखडी माईस्थित प्राथमिक विद्यालय परिसरमा निर्माण थालिएको ४ लाख ५० हजार लिटरको ओभरहेड ट्यांकीको हिन्दू परम्परा अनुसार पूजा गरी शिलान्यास गरेकी हुन् ।
स्थानीय बासिन्दालाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यसहित खानेपानी आयोजनाको आज भरतपुर महानगर प्रमुख रेनु दाहालले शिलान्यास गरेकी हुन् ।

नेपाल सरकारको खानेपानी मन्त्रालय र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहलगानीमा खानेपानी आयोजना निर्माण हुन लागेको आयोजनाको लागत २७ करोड ४७ लाख रहेको भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बताए । भरतपुर ११ र १२ नं वडा का १५ हजार जनसंख्या खानेपानीबाट पत्यक्ष लाभान्वित हुने उनले बताए । ‘खानेपानी आयोजनामा दुई वटा बोरिङ बनाएर दुई ओभरहेड ट्यांकी मार्फत् ७५ किलोमिटर पाइपलाइन बिछ्याएर प्रत्येक घरमा पानी पुर्याइने छ ।

खानेपानी ट्यांकी निर्माणका लागि ३४ करोड स्वीकृत भएकोमा टेन्डर प्रकृयामा जाँदा २७ करोड १७ लाख २४ हजार ५०० मा सम्झौता भएको र यसले यो क्षेत्रका स्थानीयको जीवनमा ठुलो योगदान गर्ने मेयर दाहालको भनाई छ ।
कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले भरतपुर महानगरले महानगरको सबै वडाका बासिन्दाका लागि स्वच्छ खानेपानी प्रदान गर्न धमाधम लागिपरेको बताइन् । उनले खानेपानीको समस्या भएका मेघौलीदेखि चौकीडाँडासम्मका ठाउँका स्थानीयका लागि सुरक्षित खानेपानीको प्रबन्ध गर्ने दायित्व महानगरको भएको र त्यसका लागि अहिले करोडौँका खानेपानीका आयोजनाहरु धमाधम शिलान्यास भई निर्माण हुने क्रममा रहेको बताइन् ।

सो आयोजनाको लागि खानेपानी आयोजना निर्माणका लागि सि ए वि प्रेरा जेभिले निर्माणको जिम्मा पाएको छ । आयोजना निर्माणका लागि २०७७ असार ८ मा सम्झौता भएको र २०७९ असार ७ गते भित्र सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको भरतपुर खानेपानी ब्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बताए ।
भरतपुर–११ का वडाअध्यक्ष बाबुराम अधिकारीले स्थानीय तहमा बढ्दो खानेपानीको अभाव समाप्त हुने विश्वास व्यक्त गरे ।
वडा नं ११ मा धेरैजसोले ट्युबबेलको पानी पिउने गरे पनि पछिल्लो समयमा पदूषित भएकाले शुद्ध खानेपानीको लागि सो आयोजनाबाट स्थानीयबासी लाभान्वित हुने वडा अध्यक्ष अधिकारीले बताए । शिलान्यास कार्यक्रममा उधोग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ , भरतपुर ११ मा रहेका सम्पूर्णटोल विकास सस्थाका अध्यक्ष लगायत सबै सरोकारवालाको उपस्थिति रहेको थियो ।























