तनहुँ / तनहुँमा बझाङ बुंगल नगरपालिकाका २२ वर्षीय युवकको मृत्यु भएको छ। तीन वर्षदेखि तनहुँमा रहेको वाइवा हाइड्रो पावर कम्पनीमा कार्यरत इन्जिनियर बुंगल नगरपालिका–११ सिपेनाका हेमन्त पातलीको पुस १३ गते साँझ कोठा जाने बेलामा ट्याक्टर दुर्घटना परि मृत्यु भएको हो।
हेमन्तको १३ गते बेलुका घटनास्थलमै मृत्यु भए पनि घरमा १४ गते खबर भएको थियो। दुर्घटनामा परी भएको मृत्युलाई आफन्तले भने शंकास्पद मानेका छन्।
हेमन्तलाई वाइवा हाइड्रो पावर कम्पनीले लामो समयदेखि पारिश्रमिक नदिएको र भाइटीकामा घर आएका उनलाई यसपटक पारिश्रमिक दिने प्रलोभनमा पारेर बोलाई सुनियोजित ढंगले मारिएको हुनसक्ने भाइ जीवनले आशंका व्यक्त गरे।
इलेक्ट्रनिक इन्जिनियरिङ गरेका हेमन्त धेरै पैसा कमाएर बिहे गर्ने योजनामा थिए। घटनाको भोलिपल्टै घरबाट गएका काका नरबहादुर पातलीले आफूहरु तनहुँ पुग्दा अन्य घाइते भनिएका ६ जना निको भई घर पठाइएको हुँदा घटना झन् शंकास्पद बनेको बताए।
तर इलाका प्रहरी कार्यालय बेलचौताराका असइ जगदीश रेग्मीले भने सडक साँघुरो र घुम्ती भएकाले घटना भएको बताए। उनले तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–५ धेनुङ देउरालीमा ट्याक्टर दुर्घटनामा परेको र घाइतेमध्ये केहीलाई डिस्चार्ज गरिसकेको ३ जना अझै पोखरा स्थित मणिपाल अस्पतालमा उपचाररत रहेका बताए।
वाइवा हाइड्रो पावर कम्पनीको योजना भए पनि सकुन इन्जिनियरिङले हाइड्रो काम गरिरहँदा घटना भएको तनहुँका एसपी अरुण पौडेलले बताए। घटनामा ज्यान गुमाएका हेमन्तको शव अझै तनहुँमा रहेको र उनका ६ जना आफन्त त्यहाँ रहेका छन्। अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ। बिमा, पारिश्रमिकबारे छलफल भइरहेको प्रहरीको भनाइ छ।





















