काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई भड्खालोमा हाल्न खोजेको बताएका छन् । आज भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।
आफूहरूको पार्टीबाट बनाइएको प्रधानमन्त्रीले असंवैधानिक कदम चालेर प्रतिनिधि सभा भंग गरेको भन्दै प्रचण्डले जनतासँग माफी समेत मागेका छन्।
प्रचण्डले भने, ‘ओली सच्चिनुभयो होला भनेको सच्चिनु भएन। कम्युनिष्ट पार्टीबाट बनाइएका अध्यक्ष र प्रधानमन्त्रीले यस्तो गर्नुहोला भनेर सोचेका थिएनौं। माफी चाहन्छौं।’
‘ओली तानाशाह हो,’ उनले भने, ‘उहाँले मुलुकलाई भड्खालोमा हाल्दै हुनुहुन्छ।’ आफूले वामगठबन्धन गरेका बेला यति छिटै ओलीविरूद्ध आन्दोलनमा जानु पर्ला भन्ने नसोचेको पनि प्रचण्डले बताए।






















