ललितपुर / ललितपुर महानगरपालिकाले नेपाल इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको इँटाको अग्ला पर्खाल भत्काएर फलामेबार लगाएको छ ।
महानगरपालिकाले खुला क्षेत्र विस्तार गर्न पहिलो चरणमा कुपण्डोल–लगनखेल सडकअन्तर्गत पर्ने नेपाल इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस खुला गरेको हो। इञ्जिनियरिङ क्याम्पसले गत वर्ष पर्खाल हटाएर दृश्यावलोकन गर्न सकिने खालको बार लगाउन महानगरपालिकालाई अनुरोध गरेको थियो। महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र क्याम्पस प्रमुख प्रा. डा .लक्ष्मण पौडेलले संयुक्त रुपमा बुधबार सो फलामेबारको उद्घाटन गरे ।
सो अवसरमा प्रमुख महर्जनले महानगरपालिकाले तीन ठाउँमा जीर्ण र अग्लो पर्खाल भत्काइ पारदर्शी हरियो बार लगाइदिएको बताए । उनले भने, “क्याम्पस परिसरमा रहेको कलात्मक राणाकालीन पुरानो आनन्द निकेतन दरबार र हरियालीयुक्त बगैँचाको सुन्दरता सबैलाई देखाउन यस कामलाई अघि बढायौँ । अग्लो र जीर्ण भवनले शहरको सुन्दरतामा आँच पुग्नुका साथै भूकम्पीय दृष्टिले समेत यी पर्खाल जोखिमपूर्ण रहेका थिए ।” सो योजना सम्पन्न गर्न महानगरपालिकाले मूल्यअभिवृद्धि करसहित रु ५५ लाख २९६ खर्च गरेको उनले जानकारी दिए ।
प्रमुख प्रा. डा. पौडेलले क्याम्पस प्रशासनमा रहेको बगैँचालाई अझै व्यवस्थित बनाउन यो बारले निकै सहयोगी भूमिका खेल्ने बताए । निवर्तमान क्याम्पस प्रमुख प्रा डा गोकर्णबहादुर मोत्राले महानगरपालिकाले शहरको सौन्दर्य बढाउन लगाइदिएको पारदर्शी बारले क्याम्पस परिसरको बगैँचा र दरबारलाई हरेक सर्वसाधारणले हेर्न पाउने बताए ।
महानगरपालिकाले इँटाको पर्खाल भत्काएर फलामेबार लगाएपछि पैदलयात्रुले क्याम्पस परिसर भित्र रहेको पुरातात्विक महत्वको राणकालीन आनन्द निकेतन दरबार र पानीको फोहोरासहितको हरियो बगैँचा सजिलै अवलोकन गर्न सकिन्छ । यसअघि काम विशेषले क्याम्पस प्रवेश गर्नेले मात्र अवलोकन गर्न पाउँथे।
इँटाको अग्ला पर्खाल भएकै कारण सर्वसाधारणले क्याम्पस परिसरमा सहजै भित्र छिर्न मात्रै होइन, पुरातात्विक महत्वका ती दरवार र पानीको फोहोरासहितको हरियो बगैँचा अवलोकनसमेत गर्न पाउँदैनथे। महानगरपालिकाले इँटाको पर्खाल भत्काएर फलामेबार लगाएपछि अहिले पैदलयात्रुले समेत भित्रको दृश्यावलोकन सहजै गर्न थालेका छन् ।
महानगरपालिकाले सदर चिडियाखान अगाडि फुटबल मैदान र महालक्ष्मीस्थान नजिकै रहेको राजदलगणसँगको खेल मैदान वरिपरीसमेत हरियो बार लगाइदिएको छ । आर्थिक वर्ष २०७५ / ७६ को नगर गौरवको आयोजनाअन्तर्गत पुल्चोक क्याम्पस हातामा उक्त बार लगाइदिएको बताइएको छ ।





















