विराटनगर / विराटनगरको नोबेल मेडिकल कलेजमा टाउकोको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएका एक युवकको पेट चिरेको पाइएपछि मृत्युको घटना शंकास्पद भएको छ।
अस्पतालबाट घर लगी अन्तिम संस्कार गर्नेबेला पेट चिरेको देखिएपछि आफन्तले चिताबाट शव उठाइए र अस्पताल लगिएको छ। अस्पतालले टाउकोको शल्यक्रियापछि मृत्यु भएका उनको शव केराबारीमा लगेर अन्तिम संस्कार गर्न चितामा राखेपछि पेट चिरेको देखिएको थियो। त्यसपछि आफन्तले शव उठाएर पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेका छन्।
टाउकोको शल्यक्रियाका क्रममा मृत्यु भएका केराबारी गाउँपालिका–९ बेलचौरीका ३० वर्षीय बिक्की ऋषिदेवको पेटमा पाँच टाँका लगाएको भेटिएको छ। अति विपन्न परिवारका बिक्कीलाई स्थानीयले चन्दा उठाएर नोबेलमा उपचारको लागि भर्ना गरेकोमा शुक्रबार उनको टाउकोको शल्यक्रिया भएको थियो।
शल्यक्रिया पछि शनिबार नै उनको मृत्यु भएकोमा अस्पतालले पैसा सबै नतिरेसम्म शव नदिने भन्दै तीन दिनसम्म रोकेर राखेको थियो। स्थानीयले पुनः चन्दा उठाएर उपचार खर्च दिएपछि सोमबार साँझ मृतकको लिएर आफन्त केराबारी पुगेका थिए।
राति करिब ८ बजे चितामा राखेर आगो लगाउनुअघि कपडा खोल्दा पेटमा प्वाल देखिएकाले मत्युको घटना शंकास्पद देखिएपछि चिताबाट उठाएर पोष्टमार्टमका लागि शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।
नाइटो नजिकै पेटमा पाँच टाँका लगाएको देखिएपछि स्थानीय र आफन्तले शवको अन्त्येष्टि नगरी राति १२ बजे चिताबाट उठाएर पोष्टमार्टमका लागि शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगेका छन। अस्पतालका जनसम्पर्क अधिकारी नारायण दाहालका अनुसार बिक्की ऋषिदेवको शल्यक्रियाका क्रममा कुनै बदमासी नभएको दाबी गरेका छन्।
‘विरामीको टाउकोमा पानी जमेकाले पानी निकाल्न पेट चिरेर पाइप राखिएको हो,’दाहालले भने,‘टाउकोमा पानी जमेका विरामीको पानी निकाल्न यो विधि अपनाइने गरिन्छ।’ बिक्कीको पनि शल्यक्रिया गर्दा सोही विधि अपनाइएको मात्र हो।यसमा पेट चिरिनुमा शल्यक्रियामा संलग्न चिकित्सहरुको कुनै गल्ति छैन।’तर स्थानीयले घटना शंकास्पद भएकोले भन्दै छानविन हुनुपर्ने बताएका छन्।
अस्पतालको उपचार खर्च तिर्न नसक्दा शव नै बन्धक
बिक्कीको टाउकोको शल्यक्रिया गर्दा १ लाख ८२ हजार २ सय रुपैयाँको बिल नोबेलले उठाएको थियो। सो रमकमध्ये ५८ हजार रुपैयाँ सरकारको विपन्न नागरिक सहायता कोषबाट र बाँकी रकम चन्दा उठाएर तिरेको थिए।
नोबेलले अतिविपन्न बिक्की ऋषिदेवको उपचार खर्चमा छुट दिन इन्कार गर्दै शव नै बन्धक बनाएको थियो। स्थानीयको सहयोगमा रकम बुझाएर अन्तिम शव लगेपछि संस्कार गर्न अस्पतालबाट छुटाएर घर लगेका थिए।(थाहाखबरबाट)





















