हुम्ला / पर–पुरुषसँग सम्बन्ध राखेको आरोपमा श्रीमतीलाई कालोमोसो दलेर दिसा खुवाउने श्रीमान सहित ७ जना पक्राउ परेका छन् । शुक्रवार हुम्लाको सिमकोट गाउँपालिकामा घटेको यो घटना अत्यन्त दुःखद छ ।
२३ वर्षीया महिलालाई आफ्नै श्रीमानले कपाल मुडेर कालोमोसो दली दिसा खुवाएको घटना सार्वजनिक भएको छ । स्थानीयका अनुसार ति महिलालाई गाउँ समेत डुलाएका छन् । घटनामा संलग्न पीडित महिलाका श्रीमान सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनामा संलग्न ६ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्य सुवेदीले जानकारी दिए । पक्राउ परेकाहरुले दिसा खुवाएको बाहेकका सबै अपराध स्वीकार गरिसकेको उनले बताए ।
पीडित महिलालाई प्रहरीले उद्धार गरेर शुक्रबार नै जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । उनलाई अहिले संरक्षणका लागि महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको डीएसपी सुवेदीले जानकारी दिए ।
पर–पुरुषसँग प्रेम सम्बन्ध राखेर गाउँको इज्जत बर्बाद गरेको भन्दै पक्राउ परेकाहरुले ति महिलालाई सजाय दिएको बताइएको छ । तर पीडित महिलाले आफु कसैसँग गलत सम्बन्ध नराखेको बताइरहेकी छन् ।





















