चितवन / चितवनको रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले १३ महिनापछि उपकुलपति पाएको छ । बिहीबार नव नियुक्त उपकुलपति प्रध्यापक डा. पुण्यप्रसाद रेग्मीले एक कार्यक्रमका बीच पदभार ग्रहण गरे । विश्वविद्यालयको १३ महिनासम्म निमित्त उपकुलपति प्रा.डा. शारदा थपलियाबाट कार्य चलिरहेको थियो ।
असोज ९ गतेको मन्त्री परिषदको निर्णयबाट डा. रेग्मी उपकुलपतिमा नियुक्त भएका थिए । यस अघि डा. रेग्मी कर्णाली प्रदेशको योजना आयोगका उपाध्यक्ष भएर काम गरेका थिए । विभिन्न पदमा बसेर काम गरिसकेका डा रेग्मी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर आएसँगै यहाँको समस्या समधान हुने विश्वास लिइएको छ ।
विगत २ महिनादेखि विभिन्न माग राख्दै यहाँका विद्यार्थीहरुले कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ताला बन्दी गरेका थिए । डा. रेग्मीले रामपुर कृषि क्याम्पसबाट बिएससी एजी गर्नु भएको थियो ।
आज उपकुलपतिको स्वागत कार्यक्रम राखिएकाले विद्यार्थीहरुले ताला खोलेका थिए । ताला फेरि लाग्ने हो कि होइन भन्ने अन्योल छ । कार्यक्रममा बोल्दै उपकुलपति डा रेग्मीले विश्वविद्यालय अब शैक्षिक क्यालेण्डर अनुसार कुनै दिन बन्द नभइ खुल्ने बताए ।
विश्वविद्यालयको सुधारका लागि कुनै पनि कसुर बाँकी नराख्ने उनको भनाइ थियो । कोभिड–१९ ले अहिलेको पठनपाठनलाई स्मार्ट बनाउँदै लैजानुपर्ने अवस्था आएको बताए । गुणस्तरिय शिक्षाका लागि विश्वविद्यालयका सबै शाखाहरुले निर्वाध रुपमा काम गर्नु पर्ने उनको तर्क छ ।
निमित्त उपकुलपति शारदा थपलियाले विश्वविद्यायको व्यवसायीकताका लागि सदैव मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताइन् । थपलिया उपकुलपतिको प्रतिस्पर्धामा थिइन । यहाँको समस्या समधानको लागि एक ढिक्का भएर बढ्न आफू तयार रहेको स्पष्ट पारिन ।
उपकुलपतिको कार्यकाल ४ वर्षको हुनेछ । विश्वविद्यालयको रजिस्टारको पद पनि खाली छ । त्यस्तै ३ वटा डीन मध्ये २ वटा पद खाली छ । यी सबै पदहरु निमित्तको भरमा छन् । सबै पदहरु निमित्तको भरमा चल्दा विश्वविद्यालयका शैक्षिक गतिविधिहरु रोकिएका छन् ।
परीक्षाहरु भएका छैनन, भने परीक्षाफलहरु प्रकाशित नहुँदा विद्यार्थीहरु अन्योलमा छन् ।विश्वविद्यालयको मुख्य काम कृषि अनुसन्धान र प्रशारण गर्ने भएपनि अलमल मै रहेको देखिन्छ । देशमा कृषि क्रान्तिका लागि यस विश्वविद्यालयको स्थापना भएको भएपनि यसो हुन नसकेको विश्लेषकहरुको भनाइ छ ।
पदभार ग्रहण समारोहमा नवनियुक्त उपकुलपति रेग्मीलाई विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले स्वागत गरेका थिए ।






















