चितवन / २०७७ साल कात्तिक १ गतेबाट एक सहकारीमा भन्दा अरुमा सदस्य बन्न पाइने छैन । एउटै प्रकृतिका धेरै सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्था अनुसार कात्तिक १ गते देखि दोहोरो सदस्यता अन्त्य गर्ने भएको छ ।
सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ ९क० मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एक भन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था रहेको छ । सो ऐन प्रारम्भ हुनु अघि एक भन्दा बढी संस्थाको सदस्य रहे तीन वर्षभित्र एक संस्थाको मात्रै सदस्यता कायम गर्न व्यवस्था गरिएको छ ।
सहकारी विभागले जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ मिति २०७४ कात्तिक १ गतेदेखि जारी भएकाले यही असोज मसान्तमा तीन वर्ष पूरा हुने हुँदा पुराना सदस्यहरु पनि दोहोरो सदस्य बस्न नपाएने भएका हुन् ।विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले आफूले छनोट गरेको कुनै एक मात्रै सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी संस्थाको सदस्यता अन्त्य गर्न सूचना जारी गरिएको जानकारी दिनुभयो ।
विभागले सबै सहकारीलाई दोहोरो सदस्यता भए सम्बन्धित शेयर सदस्यलाई जानकारी गराएर एउटा सहकारी चयन गर्न आवश्यक प्रक्रिया मिलाउन निर्देशन समेत गरेको छ ।





















