मुम्बई /अवैध निर्माण गरेको भन्दै बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले बलिउड अभिनेत्री कंगना रनावतको कार्यालय भत्काएको छ । बीएमसीले मंगलबार कंगनाको कार्यालयमा २४ घण्टाभित्र सामान हटाउन भन्दै सूचना पठाएको थियो ।
कंगनाका तर्फबाट उनका वकिलले लिखित जवाफ दिए पनि चित्तबुझ्दो नभएको बताउँदै बीएमसीले उनको कार्यालय भत्काएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार कंगनाको उक्त अफिस ४८ करोड भारतीय रुपैयाँमा निर्माण गरिएको हो ।
कंगनाले आफ्नो कार्यालयको तस्बिर ट्विट गर्दै मुम्बइलाई पाकिस्तानको संज्ञा दिएकी छन् । अर्को फोटोमा उनले ’डेथ अफ डेमोक्रेसी’ लेखेकी छन् ।
कंगनाले आफूले अवैध निर्माण नगरेको लगातार ट्विटरमार्फत बताउँदै आएकी छिन् । उनले लेखेकी छिन, ’मेरो घरमा कुनै अवैध निर्माण गरिएको छैन । सरकारले पनि सेप्टेम्बर ३० सम्मलाई नभत्काउनु भनेको छ । वास्तवमा यो हो फासिजम ।’
अर्को ट्विटमा कंगनाले महाराष्ट्रको गुन्डाले आफ्नो सम्पतिलाई अवैध सावित गर्न लागि परेको लेखेकी थिइन् ।’म आउनुअघि नै महाराष्ट्र सरकार र उनीहरुको गुन्डाले मेरो अफिस बाहिर आएर त्यसलाई तोड्ने काम गरेका छन्,’ उनले ट्विटमा लेखेकी थिइन् । बिएमसीले कंगनाको अफिसमा बुलडोजर लगाइसकेको छ । उनको यो अफिस बान्द्राको पाली हिलमा छ । केही महिनाअघि उनले यो अफिस निर्माण गरेकी थिइन् ।
अभिनेत्री कंगना चण्डिगढबाट मुम्बईको लागि निस्किएकी थिइन् । त्यसक्रममा उनका समर्थकहरु विमानस्थल पुगेका थिए । भने शिवसेनाका समर्थकहरुले उनको विरुद्धमा नाराबाजी गरेका थिए ।
शिवसेना पार्टीका नेताहरुसँग कंगनाको केही समयदेखि भनाभन चलिरहेको थियो । महाराष्ट्रमा शिव सेना नेतृत्वको सरकार छ । बीमएसी महाराष्ट्र सरकारको मातहतमा आउँछ ।
कंगनाका समर्थकले बीएमसीले राजनीतिक दबाबमा आएर उनको कार्यालय भत्काएको बताएका छन् ।तर बीएमसीका अधिकारीले भने अवैध रुपमा भौतिक संरचनाको निर्माण गरिएकाले भत्काएको बताएका छन् ।





















