काठमाण्डौं / सरकारले समयमै रासायनिक मल आयात नगर्ने दुई ठेकेदार कम्पनी माथि कारबाही गर्ने निर्णय गरेको छ।
कृषि सामग्री केन्द्र लिमिटेडले समयमै युरिया मल आयात नगर्ने शारदाप्रसाद अधिकारीको सैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपललाई कारबाही गर्ने निर्णय गरेको हो। अधिकारी सत्तासीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन्।
यी दुई कम्पनीले २५–२५ हजार टन युरिया मल ल्याउने ठेक्का पाएका थिए। तर, मल नल्याएपछि सरकारले बंगलादेशसँग पैँचो मागेको छ। कृषि सामग्री केन्द्रले ठेक्का रद्द गरेको हो, भने कार्यसम्पादन जमानत जफत गरिएको छ।
प्रचलित कानुन अनुसार सप्लार्यसँग क्षतिपूर्ति दावी गरिने केन्द्रले जनाएको छ । साथै ती कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया समेत अघि बढाइने भएको छ। कम्पनीले धान बालीका मल ल्याउने गरी गत वैशाखमा ती दुई कम्पनीसँग सम्झौता गरेको थियो। तर, थपेको म्यादमा समेत मल नल्याएपछि कारबाही गरिएको जनाइएको छ।
कृषि सामग्रीको पत्रमा भनिएको छ, ‘सम्पूर्ण सामान डेलिभरी गरी सक्नुपर्ने म्याद ५ सेप्टेम्बर अर्थात भदौ २० सम्म रहेकामा सो मितिमा समेत कम्पनीले माग गरेको भेसल नोमिनेसन, भेसलको नाम उपलब्ध नगराएको र सामान सिपमेन्ट हुने वा भएको कुनै वस्तुगत एवम् विश्वसनीय तथ्य प्रमाणहरु प्राप्त नभएकाले मिति २०७७/०५/ २१ गतेको निर्णयअनुसार निज सप्तालर्यहरुले यस कम्पनीको नाममा राखेको कार्यसम्पादन जमानत जफत गरी सम्झौता रद्ध गरिएको छ।’
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले आइतबार साँझ पत्रकार सम्मेलन गरी समयमै मल आपूर्ति नगरेपछि ती दुबै कम्पनीको बैंक ग्यारेन्टी रोक्का गरिएको बताए। उनका अनुसार कालो सूचीमा राख्नेलगायतका कारबाही अगाडि बढाइएको छ।
सरकारले नेपालमै रासायनिक मलको कारखाना खोल्न पनि प्रक्रिया अगाडि बढाएको छ। सरकारले रासायनिक मलको कारखानाका लागि सम्भाव्यता अध्ययन गर्न कृषि सचिव राजेन्द्रप्रसाद भारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ।
कृषिमन्त्री घनश्याम भुसालद्वारा जारी विज्ञप्ति :






















