काठमाडौँ / उपत्यकाका तीन जिल्लामा निषेधाज्ञालाई निरन्तरता दिने वा नदिने भन्ने बारे तीन जिल्लाका प्रमुखहरुले गृहमन्त्रालयलाई नै अनुरोध गरेको छ ।
मंगलबार काठमाडौँका प्रजिअ जनकराज दाहाल, ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकले सुझाव सहितको निर्णय गृहसचिव महेश्वर न्यौपानेलाई पठाउने तयारी गरेका छन् ।
तीनवटै प्रशासनले निषेधाज्ञालाई निरन्तरता दिने नदिने बारे आ–आफ्ना जिल्लाका स्थानीय तह, स्वास्थ्य कार्यालय सहित स्वास्थ्य मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायत सरोकार निकायसँग लिखित राय लिइसकेका छन् ।
उद्योग मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाएर उद्योग कलकारखाना सञ्चालन गर्नुपर्ने राय दिएको छ । स्थानीय तहहरुले अझै केही साता निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् ।काठमाडौंका प्रजिअ जनकराज दाहालले सरोकारवाला निकायहरुबाट आएका सुझाव र वस्तु स्थितिको मूल्यांकन गरी तीन जिल्लाकै प्रशासनले सुझाव सहितको प्रस्ताव गृहमन्त्रालयलाई पठाइने बताए ।
भदौ तीन गते मध्यराति देखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएको थियो । पहिलो पटक भदौ १० गतेसम्म कायम गरिएको निषेधाज्ञा अवधिलाई भदौ ९ गते बसेको तीन जिल्लाकै सुरक्षा समिति बैठक १७ गते राति सम्मलाई थपेको थियो । थपिएको निषेधाज्ञा बुधबार रातिबाट सकिँदैछ ।





















