काठमाडौं / विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ।
सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो। भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पिसीआर परीक्षण सहज भएका देशहरुबाट सर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो। दैनिक ५०० यात्रु नकट्ने गरी उडान नियमित उडान सञ्चालन हुनेछ। यसबीचमा विभिन्न मुलुकबाट चार्टर्ड उडान पनि सञ्चालन गरिनेछ।
नेपालमा बन्दाबन्दी शुरु भएको चैत ११ देखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो। आन्तरिक उडान पनि स्थगन गरिएको थियो। यस बीचमा कुनै पनि व्यावसायिक उडान भएनन्। विदेशमा अलपत्र नेपाली ल्याउन तथा बन्दाबन्दीले अड्किएका नेपाल र विदेश दुवैतर्फ नागरिक आवतजावतका लागि चार्टर्ड उडानहरु भए।
त्यस्तै अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन विभिन्न मुलुकबाट कार्गो उडान पनि सञ्चालन गरियो। बन्दाबन्दीको अवधिमा दैनिक १८ वटासम्म चार्टर्ड उडान भएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार बन्दाबन्दी र त्यसपछि निषेधाज्ञाको अवधिमा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ५४ हजार ११५ यात्रु नेपाल आएका छन्। नेपालबाट २२ हजार १९६ जना यात्रु बाहिरिएका छन्। कार्गोतर्फ उक्त अवधिमा विभिन्न देशबाट १४ लाख ४१ हजार ५४० कार्गो नेपाल भित्रिएको छ भने नेपालबाट १८ लाख २७ हजार ८४४ कार्गो विदेश पठाइएको छ।यो चैत ११ देखि भदौ १४ गतेसम्मको विवरण हो।
यी देशमा उडान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सेप्टेम्बर महिनाभरको नियमित र चार्टर्ड दुवै उडानको तालिका सार्वजनिक गरिसकेको छ। पिसीआर परीक्षण सहज भएका मुलुकहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र विदेशी नियोगका कुटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसङ्घको कर्मचारी लगायतलाई मात्र नेपाल ल्याउने गरी नियमति उडान गरिनेछ।
पिसीआर सहज नभएका मुलुकहरु कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय गरेको छ। नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर्ड उडान गरेर ल्याउन पाइनेछ। यस्तै पिसीआर टेष्ट सहज नभएका मुलुकहरुमा चार्टर्ड उडान मात्र सञ्चालन हुने जनाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले उडान भर्दै आएका छन्।
पहिलो उडान निगमको नारितामा
नियमित अन्तर्राष्ट्रिय उडान शुरु हुने आज पहिलो दिन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को एक मात्र उडान तालिका रहेको छ। निगमको वाइड बडी जहाजले आज राति १ बजे जापानको नारिताका लागि उडान भर्ने विमानस्थलले जनाएको छ। आजको लागि अन्य एयरलाइन्सको नियमित उडान तालिका छैन। चार्टर्डतर्फ आज पाँच उडान हुनेछन्। नेपाल एयरलाइन्सको जहाज बिहान गन्तव्यतर्फ उडिसकेको छ भने हिमालयको जहाज पनि उड्ने तयारीमा छन्। नेपाल एयरलाइन्सले दोहा र कुवेतबाट तथा हिमालयले दोहा र चीनको कुनमिङबाट नेपाली फर्काउने छ। एयर अरेबियाले सारजाहबाट नेपालीलाई घर फर्काउने उडान तालिका रहेको छ।
उडान थोरै जनशक्ति र संरचना उत्तिकै
विमानस्थललाई कोभिड-१९ सङ्क्रमणबाट बचेर सुरक्षित उडान गर्नुपर्ने एकातिर छ भने अर्कोतिर थोरै उडान सञ्चालन भएपनि जनशक्ति र संरचना उत्तिकै खर्चनुपर्छ।
यसले विमानस्थलको खर्च, समय र जनशक्ति पनि बढी व्यवस्थापन गर्नुपर्ने भएकाले केही असहज हुने जनाएको छ। नियमिततर्फ दैनिक दुई देखि तीन र चार्टर्डका केही उडान सञ्चालन हुनेछन्। नेपालबाट उडान दिउँसो वा राति १० बजेसम्म मात्र सञ्चालन गर्न सरोकारवालासँग छलफल भएपनि विदेशी स्टेशनबाट उडान तालिका नमिल्ने भएकाले मध्यरातिमा पनि उडान गर्नुपर्ने विमानस्थललाई वाध्यता परेको छ।
त्यसैले आज निगमको जहाज राति १ बजे नारिता उड्ने तालिका छ। विभिन्न मुलुकबाट आउने कनेक्टिङ फ्लाइटलाई पनि समस्या हुनेछ। मध्यरातमा विमानस्थल आउनुपर्दा व्यवस्थापनमा पनि कठिनाइ हुनेछ। विमानस्थलका महाप्रबन्धक केसीले थोरै उडान भएपनि सामान्य अवस्थामा जस्तै जनशक्ति र संरचना व्यवस्थापन गर्नुपर्ने भएकाले यसले विमानस्थलको खर्च बढाउनुका साथै जनशक्ति व्यवस्थापनमा पनि असहज हुने बताए।
खर्चिलो, जनशक्ति व्यवस्थापनमा चुनौती
उनका अनुसार अहिले महामारीलाई मध्यनजर गर्दै विमानस्थललाई जुनसुकै अवस्थामा पनि सञ्चालन गर्नुपर्ने भएकाले एक तिहाई कर्मचारीबाट मात्रै सेवा सञ्चालन गरिरहेको छ। अर्को टोली जगेडामा राखिएको छ। विमानस्थलमा रात्रिकालीन समयमा उडान नभइदिए हुन्थ्यो भनेर हामीले बारम्बार सरोकारवालासँग छलफल पनि गर्यौँ तर विदेशतर्फको तालिका नमिल्ने भएकाले मध्यरातमा पनि उडान गर्नुपर्ने बाध्यता छ’, उनले भने, ‘जतिसुकै उडान भए पनि सम्पूर्ण संरचना तयार हुनुपर्छ यसले विमानस्थलको खर्च र समय पनि बढाउँछ।
पिसिआर रिपोर्ट नहुने क्वारेन्टाइनमा
विदेशबाट आउने यात्रु विमानस्थलबाट सिधै होल्डिङ सेन्टरमा जानुपर्नेछ। प्रदेश अनुसारको सातै प्रदेशको छुट्टाछुट्टै होल्डिङ सेन्टरमा पुगेपछि यात्रुको पिसीआर विवरण तथा होटल बस्नुपर्ने हो वा घर जान पाउने हो टुङ्गो लाग्छ। पिसीआर रिपोर्ट नेगेटिभ भएकाले घरमा गएर होम क्वारेन्टिनमा बस्नुपर्छ। पिसीआर रिपोर्ट नभएकाले होटलमा सात दिन बसेर स्वास्थ्य परीक्षण गराएर आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै घर जान पाउनेछन्।





















