गोरखा / गण्डकी प्रदेशमा कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु हुनेहरूको सङ्ख्या १४ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई उद्धृत गर्दै स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ति अनुसार गोरखाको आरुघाट निवासी ६५ वर्षीया महिलाको गत भदौ १३ गते राति पौने १२ बजे वीरेन्द्र अस्पताल छाउनी काठमाडाैंमा मृत्यु भएको थियो ।
सेप्टिक सक (शरीरमा इन्फेक्सन फैलिएर रक्तचाप कम भएको अवस्था) भई भदौ ४ गते उनलाई छाउनी अस्पतालमा भर्ना गरिएको थियो । उनको मृत्यु भएको दिन भदौ १३ गते नै उनमा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको थियो ।
उनमा हाइपोथाइरोडिज्म तथा मिर्गौला रोगसमेत रहेको अवस्थामा मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी गराएका छन् ।





















