रौतहट / रौतहटको गरुडामा विहिबार स्थानियले प्रदर्शन गरेका छन । प्रदर्शनकर्ताहरुको प्रदर्शनले गरुडा तनावग्रस्थ अबस्थामा रहेको थियो ।
रौतहटको गरुडा नगरपािलका वडा नम्बर ८ जिगडियाका निरञ्जन रामको धारिलो हतियारले घाटी रेटेर हत्या गरेको आरोपमा पक्राउ परेका ७ जनामध्ये १ जनाको हिरासतमा नै मृत्यु भएपछि विहिबार दिउसो स्थानियले प्रदर्शन गरेका हुन । गत साउन ३२ गते निरञ्जनको हत्या भएपछि अनुसन्धानको क्रममा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रदर्शनकर्ताहरुले प्रहरीको कुटाइले विजय रामको मृत्यु भएको भन्दै प्रहरी बिरुद्ध चर्को नारा लगाएका छन । प्रहरी ज्यादती बढेकोले तत्काल इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायक उपरिक्षक ज्ञान कुमार महत्तोलाई कारवाही हुनु पर्नेमा उनीहरुले जोडदार माग समेत गरेका छन ।
निर्दोष ब्यक्तिहरुलाई हिरासतमा लिएर निर्घात कुटपिट गरि रामको मृत्यु भएको उनीहरुको दावी रहेको छ । तत्काल दोषीलाई नियन्त्रणमा लिइ कडाभन्दा कडा कारवाही गर्नु पर्ने आन्दोलनकर्ताहरुले बताएका छन । हिरासतमा रहेका विजय रामको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागी बिरगंजस्थित नेशनल मेडिकल कलेज लगिएको थियो ।
किडनीमा समस्या रहेकाले थप उपचारका लागी बिरगंज पठाइएको र सोही क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रविराज खडकाले प्रतिक्रिया दिनु भएको थियो । तर प्रहरीको यातनाबाट रामको मृत्यु भएको दलित अधिकारकर्मीहरु तथा स्थानियले आरोप लगाउदै आएका छन ।





















