गोरखा / जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको आईतवार बसेको बैठकले निषेधाज्ञा एक साता थप गरेको छ । पहिलो चरणमा भदौ १ गतेदेखि ७ गते सम्मका लागि गरिएको निषेधाज्ञा भदौ १४ गते सम्म कायम रहने निणर्य बैठकले गरेको हो ।
‘अन्यत्र छिमेकी जिल्ला र शहरमा कोरोनाको जोखिम देखिएको छ’ प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले भने ‘जिल्ला भित्र जोखिम न्यूनिकरण गर्न केही दिन निषेधाज्ञा थप्ने निणर्य भएको हो ।’ बैंक, बित्तिय संस्था, केही पनि चल्दैनन भने सवारी साधन पनि गुड्दैनन् ।
अत्यावश्यक सवारी साधन दुध, एम्बुलेन्स, शव बाहन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रशासन कार्यालयबाट अनुमती लिएका बाहेकका सवारी चलन पाउने छैन । सरकारी कार्यालयको सेवा पनि बन्द रहनेछ । खाद्यान्न पसल बिहान ७ देखि १० र बेलुकी ४ देखि ७ बजे सम्म खोल्न पाईनेछ ।
बैठकले समुदायका ब्यक्तिसँग घुलमिल धेरै हुने कार्यालय, जनप्रतिनिधि, सञ्चारर्मी, कर्मचारी, बाहिरबाट आएर क्वारेन्टिनमा बसेकाको पिसिआर परीक्षणको दायरा बढाउने निणर्य गरेको छ ।
चाडबाड परेकाले यस अघिको निषेधाज्ञा गरिएको सात दिन एक सय ९० जनाको मात्रै पिसिआर परीक्षणका लागि स्वाब संकलन गरियो’ स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरायणबाबु अर्यालले भने ।
गोरखा भित्रने मूख्य सिमाना पालुङटार, मझुवा, आरुघाट र घ्याल्चोक नाकामा विषेस कडाई गरिने प्रजिअ भट्टराईले बताए । अन्यत्र कोरोनाको जोखिम देखिएकाले गोरखा भन्दा बाहिरबाट आएका कर्मचारी, जनप्रतिनिधि जो कोही ब्यक्ति पनि क्वारेन्टिनमा बस्नुपर्ने, पिसिआर जाँच गराउनुपर्ने निणर्य भएको छ ।
ठुला आयोजनामा निर्माण सामग्री अभाव भएमा प्रशासन सँगको समन्वयमा ढुवानी गर्न दिने, बैंक तथा बित्तिय संस्थाले आन्तरिक काम गर्न सक्ने, सरकारी कार्यालयले अत्यावश्यक काम नरोक्ने उनले बताए ।
राजनीतिक दलका नेता र जनप्रतिनिधिले पिसिआर परीक्षणको दायरा बढाउन र सिमानामा कडाई गर्न सुझाब दिएका छन् ।






















