भरतपुर – स्तन क्यान्सरको समयमै पहिचान, रोकथाम तथा उपचारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले लायन्स क्लब अफ भरतपुर उज्यालोले ‘पिंक म्याराथन एण्ड जुम्बा’ कार्यक्रम आयोजना गर्ने भएको छ।
आगामी कार्तिक १४ गते बिहान ५ः३० बजेदेखि सञ्चालन हुने कार्यक्रममा म्याराथन र जुम्बामार्फत स्तन क्यान्सरविरुद्ध सचेतना फैलाइने आयोजकले जनाएको छ।
स्तन क्यान्सर महिलाको स्वास्थ्यसँग जोडिएको एक महत्त्वपूर्ण विषय भएकाले यसबारे समाजमा व्यापक जानकारी पुर्याउने, रोगको प्रारम्भिक लक्षणप्रति सचेत गराउने र नियमित स्वास्थ्य जाँचको महत्त्व बुझाउने लक्ष्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो। शारीरिक व्यायामलाई स्वस्थ जीवनशैलीको अभिन्न अंगका रूपमा प्रोत्साहन गर्दै स्वास्थ्यप्रति जिम्मेवार बन्नसमेत कार्यक्रमले प्रेरित गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रम अन्तर्गत पुलचोकबाट सुरु हुने म्याराथन शहिदचोक, लायन्सचोक हुँदै चौविसकोठी पुगेर समापन हुनेछ। म्याराथनपछि चौविसकोठीमा जुम्बा कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रममा सहभागीहरूलाई स्तन क्यान्सरसम्बन्धी जानकारी प्रदान गर्नुका साथै स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा सप्तगण्डकी हस्पिटलकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. जेनी नापित र चितवन मेडिकल कलेजकी एमबीबीएस, एमएस (जनरल सर्जरी) ब्रेस्ट अन्कोलोजीमा फेलोसिप डा. संगीता थापाले उत्प्रेरणादायी मन्तव्य राख्ने कार्यक्रम रहेको छ। उहाँहरूले महिला स्वास्थ्य, स्तन क्यान्सरसम्बन्धी सचेतना तथा रोगको समयमै पहिचानको महत्त्वबारे सहभागीलाई जानकारी दिने अपेक्षा गरिएको छ।
लायन्स क्लब अफ भरतपुर उज्यालोकी अध्यक्ष बुद्ध कुमारी गुरुङ (२०२६/०२७) को नेतृत्वमा आयोजना हुन लागेको कार्यक्रमबारे क्लबकी सचिव एवं कार्यक्रम संयोजक सुनिता घिमिरे पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार स्तन क्यान्सरबारे समाजमा रहेको भ्रम र अज्ञानता हटाउँदै रोगको प्रारम्भिक पहिचान तथा स्वास्थ्य परीक्षणप्रति आम नागरिकलाई जागरुक बनाउनु कार्यक्रमको प्रमुख उद्देश्य हो।
स्तन क्यान्सरको पहिचानमा ढिलाइ हुँदा उपचार जटिल बन्न सक्ने भएकाले यससम्बन्धी सही जानकारी र स्वास्थ्य सेवामा समयमै पहुँच महत्त्वपूर्ण हुने स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन्। यसै सन्दर्भमा आयोजना हुन लागेको ‘पिंक म्याराथन एण्ड जुम्बा’ले महिला स्वास्थ्यका विषयलाई समुदायस्तरमा उठान गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास आयोजकले लिएको छ।
समुदायमा स्वास्थ्य सचेतना विस्तार गर्ने र सामाजिक सेवामार्फत जनस्वास्थ्यका विषयमा नागरिकको सहभागिता बढाउने उद्देश्यसहित आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन क्लबले सर्वसाधारणलाई आग्रह गरेको छ।
स्तन क्यान्सरविरुद्धको सचेतना अभियानलाई सामूहिक प्रयासका रूपमा अघि बढाउँदै स्वस्थ र सचेत समुदाय निर्माणमा योगदान पुर्याउने कार्यक्रमको लक्ष्य रहेको छ।
























