काठमाडौं / कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ८ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा संघीय राजधानी काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररतमध्ये ५ जना संक्रमितको मृत्यु भएको छ । यस्तै, अन्य ३ जनाको भने उपत्यका बाहिरका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा काठमाडौं महानगरपालिका १२ की ७८ वर्षीय महिलाको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । यस्तै, धादिङको निलकण्ठ नगरपालिका–१४ घर भएका ३२ वर्षीय पुरुषको ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
धनुषाको जनकपुर उपमहानगरपालिका–१ का ७१ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । यस्तै, धनुषाको जनकपुर उपमहानगरपालिका–८ घर भएकी ३८ वर्षीया महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
यस्तै, बाराको कलैया उपमहानगरपालिका घर भएका ७५ वर्षीय पुरुषको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मोरङको बुढीगंगा गाउँपालिका–२ घर भएका ५५ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ ।
यस्तै, सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ घर भएका ७२ वर्षीय पुरुषको पनि कोरोना भाइरसबाट मृत्यु भएको छ ।





















