काठमाडौँ / रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना विरुद्धको खोप बनाएको दाबी गरेका छन् । राष्ट्रपति पुटिनले खोपको सफल परिक्षण भएर रुसी स्वास्थ्य मन्त्रालयले आमस्तरमा खोप लगाउन अनुमति दिएको समेत जनाएका छन् ।
उनले आफ्नो छोरीमाथि गरिएको परिक्षण सफल भएको दाबी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । मंगलबार खोप पत्ता लागेको घोषणा गर्दै पुटिनले भने, ‘हामीले कोरोनाको सुरक्षित भ्याक्सिन बनाएका छौँ । त्यसले सरकारीस्तरमा अनुमति पनि पाएको छ ।’
विश्वमै कोरोना भाइरसविरुद्ध बनाएको पहिलो खोपलाई रक्षा मन्त्रालय र गामालेया नेशनल सेन्टर फर रिसर्च इपिडिमियोलोजी एन्ड माइक्रोबायलोजीले मिलेर तयार पारेका हुन् ।
विश्वको कोरोना संक्रमितका संख्यामा चौथो स्थानमा रहेको रुसमा करिब ९ लाख मानिस संक्रमणमा परेका छन् भने १५ हजारको मृत्यु भएको छ । विश्वमा शक्ति राष्ट्रहरुबीच कसले पहिला खोप पत्ता लगाउने भन्ने होड चलिरहेका बेला रुसले सबैलाई उछिनेको हो ।





















