काठमाडौं । रााष्ट्रिय परीक्षा बोर्डले विगतको परीक्षामा ११ र १२ उत्तीर्ण हुन नसकेका झण्डै १४ लाख विद्यार्थीका लागि एकपटक मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ।
बोर्डले सूचना जारी गर्दै विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना परीक्षार्थीका लागि मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको जनाएको छ।
सूचनाअनुसार बोर्डबाट सम्बन्धन लिएर सञ्चालित शैक्षिक संस्थामा यसअघि अध्ययन गरेका तर परीक्षामा अनुत्तीर्ण वा अनुपस्थित भएका जतिसुकै पुराना विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने छन्।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार पहिलो पटक २०५६ सालमा परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका परीक्षार्थीले मौका परीक्षा दिन पाउनेछन्।
यो २१ वर्षको अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थीको सङ्ख्या १४ लाख रहेको अनुमान बोर्डले गरेको छ।






















