चितवन । चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको सहयोगमा चितवनमा उत्पादन गरिएको महलाई ब्रान्डिङ गरेर बजारमा ल्याइएको भएपनि तर महले बजार नपाएर किसानको घरमै थन्किने अवस्था आएको कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले बताए ।
वार्षिक ६ टन मह उत्पादन गर्दै आउनुभएका पौडेलले व्यावसायिक रूपमा मह उत्पादन गर्न थाले पनि बजार नपाउने समस्याले किसान थलिएकाले बजार व्यवस्थापनका लागि सरकारको सहयोग आवश्यक रहेको बताए ।
नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएका पौडेलले चितवनमा ३० हजार बढी मौरीका घारबाट वार्षिक आठ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको जानकारी दिए । उनका अनुसार उत्पादित महमध्ये अहिले पाँच सय मेट्रिक टन मह बिक्री हुन नसकेर किसानको घरमा थन्किएको छ । फेरि मह निकाल्ने समय भए पनि पुरानो मह बिक्री नहुँदा किसान चिन्तित छन् ।
गएको वैशाखदेखि सरकारले मह आयात रोक्दा केही सहज भएको भए पनि पुनः आयात खुलाउन व्यवसायी लाग्दा किसान समस्यामा पर्ने उनको भनाइ छ ।





















