धादिङ – त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या सात पुगेको छ । रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान पौने पाँच बजे धादिङको गजुरी गाउँपालिका – ५ घाटबेशीस्थित सडकबाट त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनामा ३५ जना घाइते भएको पत्रकार शिव शिलवालले जनाएका छन् । १० जना गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौ लगिएको छ भने केही घाइतेहरूको चितवन र स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसमा ४२ जना रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । बस चालक लुम्बिनी संस्कृति नगरपालिका – ९ का हरि राम रहेको र उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बसमा कति यात्रु सवार थिए भन्नेबारे अझै यकिन नभएको र मृतकहरूको सनाखत नभएको प्रहरीले बताएको छ । दुर्घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी सहित उद्धारकर्मी खटिएका छन् ।





















