काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। राजनीतिक नयाँ समीकरण बनेपछि पुनर्गठित मन्त्रिपरिषद्मा नवनियुक्त तीन विनाविभागीय मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूको शपथ गराएका हुन्। राष्ट्रपति पौडेलसमक्ष नेकपा (एमाले) बाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल ‘डिपी’ले शपथ लिएका हुन्।
यसैबीच नेपाली काँग्रेसलगायत पुरानो गठबन्धन दलबाट मन्त्री भएकाहरू बिदा भएका छन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेसलगायतका दलसँगको सहकार्य तोड्दै एमाले, रास्वपासहित नयाँ समीकरण बनाएका थिए।
शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो।





















