काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको उपलब्धिलाई अपमानित गर्ने छुट कसैलाई नभउको बताएका छन् । पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिलेसम्मको उपलब्धिको रक्षाको लागि र गणतन्त्रको विरुद्ध दुस्साहसपूर्ण गतिविधिका विश्रद्ध सबै एकजुट भएर लाग्न आह्वान गरेका छन् । उनले भने, ‘माओवादी एउटा शक्तिमा थियो, त्यति बेला सात राजनीतिक दलहरूलाई सामान्तिक निरंकुश राजाहरूको चङ्गुलबाट फुत्याउने र उनीहरूलाई राजनीतिको रंगमञ्चमा फेरि एकचोटी लिएर आउन तागत माओवादीसँग मात्रै थियो।
अहिले हामीले पनि कहाँ कहाँ कमजोरी गर्यौँ अहिले माओवादी नेतृत्वको आन्दोलन र एजेन्डालाई, माओवादीले गरेको त्याग बलिदान र ऐतिहासिक र दुरगामी कृतिहरूलाई अपमानित तीनै शक्तिहरूले गरिरहेका छन्। प्रतिक्रियावादी, सामन्ती र निरंकुशतावादीहरुले नै गरेका छन्।’
उनले अहिलेको व्यवस्थालाई अपमानित गर्न खोज्नेका विरुद्ध एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। उनले थपे, ‘यो महान् उपलब्धिलाई अपमानित गर्ने छुट कसैलाई छैन। हामीले नयाँ संकल्प लिनु छ। त्यो दुस्साहस गर्नेका विरुद्ध हामीले प्रतिवाद गर्नुपर्छ। जनयुद्धको उपलब्धिलाई अपमानित गर्ने छुट छैन। जनयुद्धमा सहभागी सम्पूर्ण नेता कार्यकर्तालाई एउटै मोर्चामा सहभागी हुन अपिल गर्छु। अब ढिलो नगरौँ जति ढिलो गर्यौं भने त्यति धेरै क्षति हुन्छ। खुला मनले आत्मालोचना गरौँ बसौँ।’





















