फोटो , योगराज ढकाल ( रिगल)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आममाफीको विषयलाई लिएर अदालतले गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । योगराज ढकाल भनिने रिगललाई आममाफी दिने सरकारको निर्णय अदालतले बदर गर्नु स्वागतयोग्य भएको बताएका हुन् ।
मुद्दाको अन्तिम किनारा र पीडितको हक लगायतका विषयमा अदालतले फेरि बोलेको उनले बताए । उनले भने, कानुनको छिद्र प्रयोग गरेर पटक पटक यस खालका घटनाहरू दोहोरिने गरेका छन्।’ आममाफीसँग सम्बन्धित कानुनलाई एकीकृत गर्न र कानुनी छिद्रहरू टाल्न आग्रह गरे ।
सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर हुने आदेश दिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गररेकाे हाे । .
सर्वोच्चले उनलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको छ । सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाउँदै रिगललाई पक्राउ गर्न आदेश दिएको हो ।
नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपनि त्यसलाई उल्ट्याउँदै निर्णय बदर गरेको हो । संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए ।
ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी शेर्पाले सरकारी निर्णविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।





















