चितवन – भौतिक पूर्वाधार मन्त्रालय अन्तरगतको पुल महाशाखाको टोलीले जगतपुर क्षेत्रस्थित ध्रुबघाटमा निर्माण हुने राप्ती नदी पुलको फिल्ड सर्भे एवं निर्माणस्थलको अवलोकन गरेको छ ।
महाशाखाको टोलीले बिहीबार चितवन राष्ट्रिय निकुञ्ज छेउमा भरतपुर माडी जोड्नेगरी ध्रुबघाटमा निर्माण हुने राप्ती नदीको नयाँ पुल एवं भरतपुर २६ को घोसराघाटबाट नवलपुरको प्रगति नगर जोड्ने पुल निर्माणस्थलको अवलोकन गरेको हो ।

बर्षा भइरहँदा भएको सो स्थलगत अवलोकनको क्रममा ध्रुबघाटमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै प्रदेश सांसद ठाकुर प्रसाद ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको योजना अनुसारनै आफू नगरप्रमुख रहँदा सो स्थानमा पुल निर्माणको योजना अगाडि बढेको बताउनुभयो ।
त्यस्तै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ध्रबघाटमा चितवन राष्ट्रिय निकुञ्ज जोड्ने राप्ती पुल निर्माण उचित हुने महानगरको समेत धारणा रहेको भन्दै ई.आई.ए. गरी यसै आर्थिक वर्षको अन्त्यसम्म ठेक्का सम्झौता गर्ने तयारी थालिएको बताउनुभयो ।
पश्चिमी चितवनका यी दुई पुलहरुबाहेक महाशाखाको टोलीले नारायणी नदीमा बन्ने सिग्नेचर ब्रिजको समेत फिल्डको निरीक्षण गरेको थियो । ३ वटै नयाँ पुल निर्माण गर्न एकै पटक ठेक्का सम्झौता गर्ने तयारी गरिएको पुल महाशाखाका उपनिर्देशक नरेशमान शाक्यले बताउनुभयो ।





















