काठमाडौं – आफ्नो पत्नी वियोगको शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको परिवारलाई समवेदना दिन आउनेको हरेक दिन भिड लाग्ने गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसहित शोकमा रहेको परिवारलाई समवेदना प्रकट गर्न राजनीतिक दलका नेतादेखि कार्यकर्ता, कलाकार, उद्योगी व्यवसायी, पत्रकार लगायतको टिम पुग्ने गरेको छ । आज बिहानदेखि प्रधानमन्त्री प्रचण्ड र उनका परिवारलाई समवेदना प्रकट गर्नेको बाक्लो उपस्थिति थियो ।

बालुवाटार पुगेर उनीहरूले स्व. सीता दाहालको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले समवेदना प्रकट गर्न आउनेहरूका लागि बिहान ८ देखि १० बजेसम्म र अपराह्न ४ देखि साँझ ६ बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।
यही क्रममा आज बिहान प्रेस सेन्टर नेपाल चितवनको टोलीले बालुवाटार पुगेर पत्नी वियोगको शोकमा रहेका प्रधानमन्त्री प्रचण्ड र छोरीहरु रेणु दाहाल र गंगा प्रति समवेदना प्रकट गरे । व्यस्तताको बीचमा पनि प्रधानमन्त्री प्रचण्डले प्रेस सेन्टर चितवनको टोलीलाइ समय दिएर भेटघाट गरे ।
भेटका क्रममा उनले आफ्नो जीवनसंगिनी एवं माओवादी सल्लाहकार स्व. सीता दाहाललाई सम्झिए । प्रधानमन्त्री प्रचण्डले आफुलाई सफल बनाउन सीताले खेलेको भूमिकाको चर्चा गरे। आफु प्रधानमन्त्री भएदेखि बालुवाटार आएपछि पत्नीको अवस्थामा निक्कै सुधार आएको उल्लेख गर्दै प्रचण्डले उनको अवस्थामा आएको सुधारले गर्दा नै आफुले मुलुकको लागि सक्रिय भएर लाग्न पाएको बताए ।
उनले राजनीतिमा आफु लागेपनि श्रीमतीले सदा सही बाटो देखाएको र उनले सदा गर्वको साथ शिर उच्च राख्ने ठाउँ बनाइदिएको उल्लेख गरे । उनले भने हामीलाई थाहा थियो, सिताको अवस्था नाजुक छ, कुन बेला कति खेर के हुन्छ थाहा हुन्न, बालुवाटार आएको करिब ७ महिनासम्म सिताको अवस्था सुधारउन्मुख थियो, तर गत बुधबार बिहान एक्कासी समस्या आएपछि नर्भिकमा लगियो तर अस्पताल पुर्याएको केही समयपछि निधन भयो ।
उनको निधन भएपछि अन्तिम दाहसंस्कारसम्म सबैले देखाएको माया अनि अहिले श्रद्धाञ्जली अर्पण गर्न आउनेहरुप्रति प्रधानमन्त्री प्रचण्डले धन्यवाद प्रकट गरे । सीता पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । मंसिर ०७४ मा छोरा प्रकाशको अल्पायुमै निधन भएछि सीताको स्वास्थ्य कमजोर भएको थियो । अमेरिका, भारत र सिंगापुरमा समेत उनको उपचार गरिएको थियो, तर रोग निको भएको थिएन ।

वि.सं. २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग बिहे भएको थियो । माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार सीता वि.सं. २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध थिइन् । उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् ।
पार्टी कामको सिलसिलामा पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी सीता जनयुद्ध सुरु भएपछि प्रचण्डसँगै २०५२ सालदेखि भूमिगत भएकी थिइन् । पार्टीभित्रका संकट र विवाद समाधानमा उनले समन्वयकारी भूमिका निर्वाह समेत गरेकी थिइन् । ‘ प्रचण्ड दम्पतीका तीन छोरी र एक छोरा गरी चार सन्तान रहेकोमा एक छोरा र एक छोरीको निधन भइसकेको छ।





















