काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन्। एक दिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं आइपुगेका लुले भेटवार्ता गरेका हुन्।
भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको सभापति देउवाको निजी सचिवालयले जानकारी दिएको छ। सभापति देउवाले ट्वीट गर्दै भेटमा शान्ति, लोकतन्त्रको प्रवर्द्धन र अमेरिकी सहयोगका विषयमा छलफल भएको जानकारी गराउनुभएको छ। सभापति देउवाले अमेरिकी सहयोगका लागि कृतज्ञता ज्ञापन गरेका छन्।
लुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ। उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए।





















