काठमाडौं / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेलाले सभापति शेरबहादुर देउवाले महाधिवेशनमा धाँधली नगर्ने र निष्पक्ष गर्ने ग्यारेन्टी गर्नुपर्ने निस्कर्ष निकालेको छ।
बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा मै आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको भेला राखेर उक्त समूहले यस्तो निस्कर्ष निकालेको हो। पौडेल पक्षले देउवाले एकपक्षीय रुपमा समिति तथा विभागहरु गठन गरेको आरोप लगाएको छ।
उक्त समूहले विभाग विस्तार कार्य रोक्न माग गर्दै सभापति शेरबहादुर देउवालाई लिखित पत्र पनि बुझाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको पौडेल समूहमा आवद्ध केन्द्रीय सदस्यहरुको बैठकले विभाग विस्तार कार्य तत्काल रोक्न माग गर्दै सभापति देउवालाई लिखित पत्र बुझाउने निर्णय गरेको हो।
‘हामी उहाँलाई लिखित पत्र बुझाउँदै छौँ,’ वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘उहाँ नसच्चिए हामी छुट्टै तरिकाले दबाब दिन्छौँ।’ बैठकले पार्टी सभापति देउवालाई वरिष्ठ नेता पौडेलले भेटेरै पत्र बुझाउने निर्णय गरिएको बैठकमा सहभागी केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए।
पार्टीको आगामी महाधिवेशनको कार्यतालिका तय भइसकेको अवस्थामा विभाग विस्तार निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै पौडेल समूहले असन्तुष्टि जनाउँदै आएको छ।





















