काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्या हल गर्न राष्ट्रिय सहमति गरेर अघि बढ्ने प्रस्ताव गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०–८१ नीति तथा कार्यक्रममाथि कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय समस्याहरु समाधान गर्न सबै एक ठाउँमा आएर राष्ट्रिय सहमति गरी अघि बढ्नुपर्ने बताए ।
२०७२ मा विनाशकारी भूकम्प गएपछि प्रतिपक्षमा रहेको आफ्नो दलले सरकारलाई सहयोग गरेको र अहिले पनि संसदीय समिति गठन, संवैधानिक परिषद्का विषयमा आफूले सक्दो लचकता देखाएको उनले दाबी गरे । उनले पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दा केही तितामिठा अनुभूति भए पनि देश र जनताको हितलाई हेरेर एक ठाउँमा आउनुपर्ने बताए ।
‘अहिले पनि राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति आवश्यक छ । सुशासन, त्यसमा पनि भ्रष्टाचार विरुद्धको लडाई हामी सबै मिलेर मात्र जित्न सक्छौं ’, प्रधानमन्त्री प्रचण्डले भने ।
उनले पहिलाको सरकार र अहिलेको सरकारले ल्याएको नीति कार्यक्रममा कुनै फरक नभएको र यो एक हदसम्म कर्मकाण्डी नै रहेको बताए । यद्दपी यसपटकको कार्यक्रममा केहि नयाँ मौलिकपन समावेश गर्न खोजिएको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा अपराधी नछुट्ने र निर्दोष नफस्ने गरि अनुसन्धान गर्न निर्देशन दिएको र अव अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए ।
उनले सम्पती शुद्धिकरण, राजस्व लगाएत बेतिथी रहेका क्षेत्रलाई क्रमश सुधार गर्दै लाने र यसका लागि सदनको साथ आवश्यक रहेको बताए । उनाले आफ्नो तेश्रो कार्यकाल अन्तिम हुन सक्ने भन्दै यसलाई चूनौतिपूर्ण र अवसरपूर्ण ठानेको उल्लेख गरे ।





















