काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना थप ३ दिन हिरासतमा रहने भएका छन् ।
यो प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो । त्यस क्रममा अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरी स्रोतले बताएको छ ।
संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराध लगायत विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुमाथि अनुसन्धान नसकिएको भन्दै थप समय हिरासतमा राख्न अनुमति माग गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले अनुसन्धान सकेर यथासिघ्र प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने बताए ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा प्रतिनिधिसभा सदस्य तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत १६ जना पक्राउ परेका छन् ।
यो प्रकरणमा केशव दुलाल, सानु भण्डारीसहितका व्यक्ति १२ चैतमा पक्राउ परेका थिए । संगठित अपराध मुद्दामा प्रहरीले अभियुक्तलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । यो मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको आगामी शुक्रबार ६० दिन पूरा हुनेछ ।
जिल्ला सरकारी वकिल कार्यालयले ६० दिनभित्र मुद्दा दर्ता गर्न आफूहरुलाई अध्ययनका लागि पर्याप्त समय हुने गरी अनुसन्धान प्रतिवेदन बुझाउन प्रहरीलाई ताकेता गरेको छ । प्रहरीले आइतबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउने तयारी गरेको थियो । तर प्रतिवेदन प्राप्त नभएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले बताए ।





















