भरतपुर – चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्ववियुको निर्वाचन बहानामा परीक्षा शाखाका कर्मचारीबाट अनधिकृत रुपमा विद्यार्थीको वैयक्तिक विवरण (पर्सनल डाटा) बाहिरिएको प्रमाण भेटिएको छ ।
सप्तगण्डकी बहुमुखी क्याम्पसमा परीक्षा शाखामा कार्यरत कर्मचारीले अवैध तरिकाबाट नेकपा (एमाले)निकट अनेरास्ववियुका विद्यार्थी नेतालाई उक्त तथ्याङ्क दिएको नामसहित एक आडियोमा प्रष्ट खुलेको छ । नेपालको संविधान भाग ३ धारा २८ मा समेत गोपनियताको हक सुरक्षित गरिएको छ ।
उक्त आडियोमा एमालेनिकट अनेरास्ववियुका चितवन जिल्ला सयोजक प्रकाश आचार्यको नामसमेत आएको छ । आफूनिकटको विद्यार्थी संगनलाई जिताउन कर्मचारीहरुले यस्तो हर्कत गरेको अन्य सङ्गठनका विद्यार्थी नेताहरुले आरोप लगाएका छन् ।
यो विषयमा सप्तगण्डकी बहुमुखी क्याम्पसमा रहेका सातवटा क्रियाशील विद्यार्थी सङ्गठनहरुमध्ये ६ वटा विद्यार्थी सङ्गठनले सरोकारवाला निकायसँग जवाफ माग्दा कुनै पनि जवाफ नआएको भन्दै परीक्षा शाखामा तोडफोड समेत गरेका थिए ।
कर्मचारीको यस्तो हर्कतले क्याम्पसमा आफ्नो महत्वपूर्ण डकुमेन्टहरु सुरक्षित रहन्छ कि रहँदैन भन्ने कुरामा अन्योल पर्न थालेको विद्यार्थीहरु बताउँछन् तर यस विषयमा क्याम्पस प्रशासनले राजनीतिक दबाबका कारण कुनै पनि किसिमको छानबिन नगर्दा क्याम्पस प्रशासनमाथि थप प्रश्न उब्जिएको छ ।





















