चितवन – भरतपुरको प्रदर्शनी केन्द्रमा जारी नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी ‘चितवन जुत्ता चप्पल मेला २०७९’ मा ग्राहकको आगमन बढ्न थालेको छ ।
सुरुका दिनमा मेला सुनसान देखिए पनि अहिले दैनिक ६०० भन्दा बढीले मेला अवलोकन गरेको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्याले जानकारी दिएका हुन् । उनले भने, ‘सुरुका दिनमा प्रचार–प्रसार नभएकोले ग्राहक कम थिए । जुत्ता मेलाका विषयमा मिडिया तथा पत्रपत्रिकाबाट सूचना प्रवाह गर्न थालेपछि बढेका छन् ।
मेला लागेको आठ दिन भयो अहिलेसम्म चार हजार ५०० जनाले यहाँ अवलोकन सँगै जुत्ता चप्पल किनेर गएका छन् ।’ चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको ‘प्रथम चितवन जुत्ता चप्पल मेला’मा १० वटा स्वदेशी उद्योगबाट उत्पादित एक हजार बढी प्रकारका जुत्ता चप्पल राखिएका छन् ।अगामी चैत १७ गतेसम्म सञ्चालन हुने फुटवेयर एक्स्पोमा ४० वटा स्टल रहेको उपाध्यायले बताए ।

स्वदेशी उत्पादनका बारेमा आमउपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी गराउने उद्देश्यले एक्स्पो सुरु गरिएको उपाध्यायको भनाइ छ । नेपाली उत्पादनको प्रवद्र्धन गर्नका लागि एक्स्पो सुरु गरिएको हो । केटीएम सुजका प्रबन्ध निर्देशक प्रमोद महतोले नेपाली ग्राहकलाई नेपाली जुत्ता चप्पल प्रति विश्वस्त बनाउन मेलाले विशेष भूमिका खेल्ने बताए । उनले भने, ‘हामीले स्वदेशी ग्राहकलाई स्वदेशी ब्राण्डका जुत्ताचप्पल लगाउने बानी बसाल्न खोजेका हौं । यस्तै मेलाका कारण अहिले नेपालमा ६५ प्रतिशत नेपाली जुत्ता नै बिक्री हुन्छ ।’
आकर्षक छुट्मा जुत्ता चप्पल बेचिरहेका महतोले स्वदेशमै कच्चा पदार्थ उत्पादन भए अझै सस्तोमा बेच्न सकिनेमा जोड दिए । उनले भने, ‘उत्पादक, डिलर हुँदै हाम्रो उत्पादन बजारमा पुग्छ । त्यसपछि मात्र उपभोक्ताको हातमा सामान पर्छ । सबैले थोरै थोरै नाफा लिदा वस्तुको मूल्य अवस्य बढ्छ ।
त्यसमा पनि यहाँबाट कौडीको भाउमा भारतलाई बेचेको काँचो छाला फेरि हामीले किन्नुपर्दा ४ देखि ५ प्रतिशत बढी मूल्यमा किन्नुपर्छ । त्यसकारणले हाम्रो जुत्ता, चप्पलको मूल्य बढी देखिएको हो । यही कच्चापदार्थ पाए अहिलेको बजार भाउ भन्दा सस्तोमा ग्राहकले खरिद गर्नेछन् ।’ नेपाली कारखानामा जति पनि कच्चापदार्थहरु चाहिन्छ त्यसको ३० देखि ४० प्रतिशत मात्र नेपाली कच्चा पदार्थले धान्ने गरेको महतोले जानकारी दिए । बाँकीको कच्चापदार्थ भारतदेखि चीनबाट आयात हुने गरेको उनको भनाइ थियो ।

स्वदेशी सामग्रीबाट जुत्ताचप्पल निर्माण गर्न सकेको अवस्थामा नेपाली मुद्रा विदेशिने क्रम घट्ने तर्फ समेत उनले जोड दिए । बीएफ फुटवेयरका प्रतिनिधि सौजन उपाध्यायले विदेशी ब्राण्ड र नेपाली ब्राण्डको जुत्ताको गुणस्तरमा कुनै फरक नरहेको बताए । ‘जुत्ता चप्पलको मूल्यमा ब्राण्डिङ नै हो सबै भन्दा ठूलो कुरा ।
विदेशी ब्राण्डका फुटवेयर हामी ८ हजारदेखि १० हजार हालेर किन्छौं । नेपाली ब्राण्डका जुत्ता चप्पललाई २ देखि ५ हजार हाल्न परे हिच्किचाउँछौं । उनीहरुले प्रयोग गर्ने सामग्री र हामीले प्रयोग गर्ने सामग्री एउटै हो । ब्राण्डिङको कुराले मात्र हो नत्र हाम्रो नेपाली उत्पादन कोहीसँग कम छैन’, उनले बताए । नमस्ते फुडवेयरकी प्रमुख सन्ध्या गिरीले नेपाली उत्पादन प्रति आकर्षण बढ्दै गएको बताइन् । ‘पहिला भन्दा अहिले नेपाली जुत्ताको बजार एकदमै राम्रो छ ।
म नेपाली नै लगाउँछु भन्ने मान्छेहरु पनि यहाँ धेरै भेटिन्छन् । धेरैले डिजाइनसँगै टिकाउ रहेको प्रतिक्रिया दिन्छन’, उनले बताइन् ।
मेलामा बीएफ डियर हिल र बीएफ स्पोर्ट्स, शिखर शुज, क्रसरोड, फस्ट वाक, शुजल्याण्ड, रनशुज, भेनस, केटीएम शुज, शिल, हाईलाइफ लगायतको ब्राण्डका जुत्ता, चप्पल तथा छालाबाट उत्पादित सामग्रीहरु राखिएका छन् ।
एक हजार पाँच सय उद्योग रहेको नेपाली जुत्ता चप्पल उद्योगमा ३० अर्ब रुपैयाँको लागानी रहेको छ ।





















