काठमाडौँ। एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले स्ववियु निर्वाचनमा कम्तिमा ३३ प्रतिशत र अनिवार्य ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने माग गरेको छ ।
अनेरास्ववियूकी महासचिव आरती लामा नेतृत्वको टोलीले विद्यार्थी कल्याण तथा खेलकुद महानिर्देशनालयका प्रमुख प्रा. पशुपति अधिकारीलाई उक्त कुरा माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा भनिएको छ – नेपालको संविधान २०७२ ले हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको वर्तमान समयमा स्ववियु निर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिला सहभागी गराउनु संविधानको मूल मर्मलाई आत्मसात गर्नु हो ।
ज्ञापनपत्र बुझ्दै अधिकारीले अनेरास्ववियूको उक्त मागप्रति त्रिभुवन विश्वविद्यालय सकारात्मक रहेको र नीतिनिर्माणकै तहमा उक्त मागलाई विषय बनाएर उठाउने बताएको अनेरास्ववियूका प्रवक्ता मिलन राईले बताए ।
त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते आफ्ना आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन गराउने तयारी गरिरहेको छ ।





















