चितवन – भरतपुृरमा रहेको बोष्टन ईन्टरनेशनल कलेजले ‘उद्यमशीलता यात्राको अनुभव’ र ‘वित्तीय र व्यावसायिक विश्लेषण’ सम्बन्धी गोष्ठीको आयोजना गरेको छ ।
चितवन उद्योग संघ र सिद्धार्थ बैकं सँगको सहकार्यमा बोष्टन कलेजका एमबिए तहका तेस्रो र चौँथो सेमेस्टरका विद्यार्थी बीच एक दिने गोष्ठि भएको हो ।
चितवन उद्योग संघको औद्योगिक पाठशालाको हलमा उद्योग एवम् वित्त विशेषज्ञहरूबाट प्रशिक्षण दिईएको थियो । विद्यार्थीलाई उद्यमशीलतामा प्रेरित गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको कलेजले जानकारी दिएको छ ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, संस्थाका उपाध्यक्ष युगराज ओस्तीले आफ्नो उद्यमशीलाको यात्रा सँगै उद्यमीले भोग्नुपरेका समस्या र बजारका अवसरका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा उद्यमीहरूलाई सहयोग पु¥याउनका लागि बृहत् आर्थिक समस्याहरूलाई सम्बोधन गर्ने खालका सरकारी नीतिहरू बन्न आवश्यक रहेको भन्दै चितवन उद्योग संघले त्यसमा पैरवी गर्दै आएको कुरा पनि चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनुभयो ।
सिद्धार्थ बैंक लिमिटेड (हकिम चोक शाखा)का शाखा प्रबन्धक सन्दीप बाराकोटीले ‘वित्तीय र व्यावसायिक विश्लेषण’ को बिषयमा विशेष गरी चितवनको सन्दर्भमा वित्तीय योजना र व्यावसायिक निर्णय लिन व्यवसायीहरूले भोग्नुपरेको समस्या सुनाउनु भएको थियो ।
व्यवसायलाई दिगो बनाउनका लागि उद्यमी र उद्योगीले ध्यान दिनुपर्ने प्रमुख सूचकहरू पनि उहाँले बताउनुभयो । वित्तिय सुचाङ्कहरुले व्यवसायको स्वस्थ्य परीक्षण गर्न सकिने कुरा औँल्याउँदै उहाँले उद्योगी एवम् उद्यमीहरुले त्यस्ता सुचाङ्कहरुको ज्ञान राख्न अत्यावश्यक रहेको कुरा स्पष्ट पार्नुभयो ।
उहाँहरुको विशेषज्ञता र अनुभवको साथ, उपस्थितहरूले चितवनको उद्यमशील परिदृश्यको गहिरो बुझाइ हासिल गरेको विद्यार्थीहरुले बताएका छन् ।
ईन्ड्स्ट्री कनेक्ट कार्यक्रम विशेषत शैक्षिक संस्था र उद्योग व्यवसाय बिच सहकार्य स्थापना गर्ने कार्यक्रम हो र यस कार्यक्रममार्फत विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान सिकाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।





















