काठमाडौं / अर्थमन्त्री डा. युवराज खतिवडाले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अुनसन्धान आयोगमा आइतवार उजुरी परेको छ। ‘इनफ इज इनफ’ का अभियन्ताले अर्थमन्त्री खतिवडा तथा सचिवहरु शिशिर कुमार ढुङ्गाना र रामशरण पुडासैनीविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्।
यो अभियानका ५० जना सदस्यहरु आइतबार टंगालस्थित अख्तियारको कार्यालयमा पुगेर उजुरी दर्ता गराएका हुन्। अभियन्ताहरूले कोरोनाभाइरसको महामारीबाट नागरिकलाई जोगाउन ठूलो बजेट खर्च गर्दा अनुगमन नगरेको र हिसाब पारदर्शी नबनाएको भन्दै उजुरी दिएका हुन्। मन्त्री खतिवडाले अनुगमन नगरेर भ्रष्टाचारलाई बढावा दिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम कारबाही गर्न उनीहरुले माग गरेका छन्।
यसअघि उनीहरुले चीनबाट ओम्नी ग्रुपमार्फत स्वास्थ्य सामग्री ल्याउँदा भ्रष्टाचार गरेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरूद्ध उजुरी हालेका थिए। उनीहरुले अहिले अर्थमन्त्री र सचिव विरूद्ध उजुरी हालेका हुन्। उनीहरुले सरकारले आफूहरुका माग बेवास्ता गरेमा अर्को चरणमा अझै कडा कार्यक्रम ल्याउने बताए। उनीहरुले अब गृहमन्त्री रामहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेविरुद्ध पनि उजुरी हाल्ने चेतावनी दिएका छन्।
उनीहरुले कोरोनाभाइरस महामारीको व्यवस्थापन, नियन्त्रण, न्यूनीकरण तथा रोकथाममा गरिएको खर्च विवरण पनि सार्वजनिक गर्न दबाब दिएका छन्। उनीहरुले संघीय सरकार, प्रदेश र स्थानीय तहको खर्च विरण मागेका छन्।
सरकारको काममा तीव्र असन्तुष्टि जनाएका यस अभियानका संयोजक ‘ई’सहित यसअघि अनशन बसेका थिए। तर सरकारले १२ बुँदे सहमति गरेपछि उनीहरुले अनशन रोकेका थिए।
तर त्यो सम्झौता कार्यान्वयन नभएपछि ई सहित समाइरा श्रेष्ठ र करण गुरूङ नौ दिनदेखि वसन्तपुर दरबार परिसरमा अनशन बसेका छन्। उनीहरुले सरकारले सम्झौताको कार्यान्वयन नगरेकाले फेरि आन्दोलन थाल्नु परेको बताएका छन्। (थाहा खबरबाट )





















