दमौली । पहिरोबाट ज्यान गुमाएका तनहुँको व्यास नगरपालिका–११ ओडारेका एक परिवारलाई तनहुँका सङ्घीय सांसद कृष्ण कुमार श्रेष्ठले रु एक लाख सहयोग गरेका छन् ।
गत असार २९ गतेको पहिरोबाट ज्यान गुमाएका पदम चेपाङका परिवारलाई सांसद श्रेष्ठले रु एक लाख सहयोग गरेको हो ।
उक्त रकम सांसद श्रेष्ठले आज मृतकका श्रीमती फूलमाया चेपाङलाई हस्तान्तरण गरे। जनतालाई दुःख परेको बेला आफू सधैँ जनताको साथमै रहेको बताउँदै सांसद श्रेष्ठले राहत रकमले पीडामा मलम लगाउन सहयोग पुग्ने बताए। नेपाल चेपाङ सङ्घ तनहुँका अध्यक्ष समेत रहेका पदमको शव असार ३० गते भेटिएको थियो ।
यसैगरी सांसद श्रेष्ठले ओडारेका ३६ घर चेपाङ परिवारलाई ४० बोरा चामलसमेत उपलब्ध गराएका छन् । शनिबार मात्रै सांसद श्रेष्ठले भानु नगरपालिका–९ सिमल गैह्रामा पहिराले पुरिएर निधन भएका दुई जनाको परिवारलाई रु ५० हजार, व्यास नगरपालिका–९ माझफाँट र गजौडेका दुई छुट्टाछुट्टै परिवारलाई रु २५/ २५ हजार प्रदान गरेका थिए।
सांसदमा निर्वाचित भएपछि तलबभत्ता नलिने घोषणा गरेका श्रेष्ठले आफूले प्राप्त गर्ने तलब भत्ता विभिन्न सामाजिक सङ्घसंस्थालाई हस्तान्तरण गर्दै आएको छ ।





















