चितवन / भरतपुरको मुख्य बजार क्षेत्र नारायणगढको लायन्सचोकदेखि सहिदचोकसम्मको सडक डिभाइडरमा वृक्षरोपण गरिएको छ ।
भरतपुर महानगरपालिका, लायन्स क्लब अफ नारायणगढ बालकुमारी र एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सो डिभाइडरमा वृक्षरोपण गरिएको हो ।भरतपुर महानगरपालिकालबाट कोही पनि सहभागी नभएपछि वृक्षरोपण कार्यक्रमको उद्घाटन लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु का फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले गरे ।
वृक्षरोपण कार्यक्रममा आयोजक मध्येको एउटा संस्था भरतपुर महानगरपालिका भने अनुपस्थित रहेको थियो । अन्य संस्थाहरुको आयोजनामा हुने उद्घाटन र आसनग्रहणमा सहभागिता जनाउने भरतपुर महानगरपालिका लायन्सचोकमा आयोजना गरिएको वृक्षरोपणमा भने सहभागी भएन ।
आफै आयोजक रहेको संस्थाले कार्यक्रममा सहभागिता नजनाउँदा अन्य सहभागीहरु भने दुखि भएका छन् । अन्य ठाउँमा रिबन काट्न र भाषण गर्न पुग्ने महानगरपालिका आफ्नै आयोजनामा भएको वृक्षरोपण कार्यक्रममा नआउनु दुखद भएको उनीहरुको भनाइ छ ।
गुलमोहरको बिरुवा रोप्दै भट्टले वृक्षरोपणले सौन्दर्यता झल्किनुका साथै वातावरण समेत सफा रहने बताए ।
लायन्सचोकदेखि सहिदचोक सम्मको सडक डिभाइडरमा गुलमोहर, चमेलीलगायतका फूलका बिरुवाहरु रोपिएको एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालगोपाल चुकेले बताए ।
उक्त डिभाइडरमा लगाइएको फूलका बिरुवाहरुको संरक्षण गर्नका लागि आफ्नो संस्थाले सक्दो भूमिका निर्वाह गरिरहेको चुकेको भनाइ छ ।





















