काठमाडौं। सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठक निष्कर्ष बिना नै सकिएको हो।
बैठकमा आगामी सरकार गठबन्धन भित्रका दलहरूमध्येबाट कसले पहिला बनाउने भन्ने विषयमा सहमति हुन सकेन। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार भोलि पुनः बैठक बस्ने गरी आजको बैठक सकिएको हो।
आगामी दिनमा कसरी जाने भन्नेबारेमा आजको बैठकमा छलफल भएको उनले बताए। कार्कीका अनुसार भोलि बिहान बैठक बसेर निर्णय लिइनेछ। उनले सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने पनि बताए। उनले गठबन्धनका नेता को पहिले र को पछि प्रधानमन्त्री बन्ने भन्ने विषय गौण भएको र देशको हितमा सहमति हुने बताए।
उनले भने, ‘जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा पनि हामी सहमतिमा पुगेका छौं। बैठक भोलि फेरि बस्नेछ। भोलि हामीले निर्णय सुनाउने छौं। आज धेरै विषयमा गम्भीर रूपले छलफल भयो। छलफल सकारात्मक रूपले अघि बढेको छ। अहिलेको राजनीतिक परिस्थितिको बारेमा छलफल गरेका छौं।’
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छन्। जस कारण पनि नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरूबीचको छलफल तीव्र बनेको छ।





















