भरतपुर – चिकित्सक डा. भोजराज अधिकारीले चितवनका ४ वटा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री उपलब्ध गराउने घोषणा गरेका छन् ।
भरतपुर महानरपालिका र माडी नगरपालिकाबाट २–२ विद्यालय छानेर कुल ४ वटा सामुदायिक विद्यालयलाई वर्षभरिलाई पुग्ने खेलसामग्री उपलब्ध गराउने घोषणा उनले गरेका हुन् ।
सर्वकालीन उत्कृष्ट खेलाडी लियोनल मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले विश्वकप फुटबल जितेको भोलिभल्ट भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त घोषणा गरेका हुन् ।
“भरतपुर र माडीका २–२ विद्यालयलाई फुटबल खेलसँग सम्बन्धित खेल सामग्री एक वर्षभरिलाई दिइने छ”, चौबिसकोठीमा मेस्सीको जितको खुसियाली मनाउने क्रममा उनले भने– “फुटबलमा केही सम्भावना बोकेका विद्यालयको छनोट गरी सहयोग गरिने छ ।”
यस क्षेत्रका चर्चित फिजिसियन डा. अधिकारी गत प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन लडेका थिए । उनले चुनाव लडेको क्षेत्रमा माडी नगरपालिका र भरतपुर महानगरपालिकाका १९ वडा पर्छन् ।
उनले मेस्सीको जीवनबाट ‘संघर्ष जारी राख्नू’ र ‘हार कहिल्यै नमान्नू’ भन्ने शिक्षा लिन सक्ने भन्दै फुटबलमार्फत देश चिनाउन सकिने सन्देश दिन लागेको बताए ।
अर्जेन्टिना फ्यान क्लब चितवनले सोमबार साँझ चौबिसकोठीमा मैनबत्ती प्रज्ज्वलन गरी केकसमेत काटेको छ । अर्जेन्टिना र मेस्सीका युवा फ्यान उपस्थित उक्त कार्यक्रममा फ्यान क्लबका सल्लाहकारसमेत रहेका डा. अधिकारीले केक काटेका थिए ।





















