चितवन । नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य चितवन निर्वाचन क्षेत्र नम्बर २ (क ) का प्रदेश सभा सदस्यका उमेदवार घनश्याम दाहाल (अविनाश) ले प्रवृत्तिविरुद्ध गठबन्धन भएको बताएका छन् ।
बुधबार कालिका नगरपालिका ६ को ढोकुन थर्वालिङ्ग गुम्बा लगायत ठाउँमा आयोजित चुनावी घरदैलो तथा कोणसभामा उनले केपी ओली ‘बा’ प्रवृत्तिविरुद्ध ५ दलीय गठबन्धन भएको बताएका हुन्।

‘केपी ओली प्रतिगमनकारी हुन्,’ उनले भने, ‘संविधान मिच्ने, छोराछोरीले भनेको मात्रै सुन्न र न्यायालयमाथि हमला गर्ने केपी ओली बा प्रवृत्तिविरुद्ध पाँच दलीय गठबन्धन भएको हो।’ प्रधानमन्त्री ओलीका ४ गल्तीले देश दुर्घटनाको बाटोमा गएको उनले आरोप लगाए। ओलीले संविधानको चीरहरण गरी दुई दुई पटक जनप्रतिनिधिको सर्वोच्च थलो संसद विघटन गर्ने, आफ्नै नेतृत्वको नेकपा फुटाउने, न्यायालयमाथि हस्तक्षेप गर्ने र राष्ट्रपति पदको दुरुपयोग गरी संविधान कुल्चने लगायतका काम गरेको उनको आरोप छ ।
ओलीले न्यायालयमाथि गरेको हस्तक्षेपकारी भूमिकाले न्यायालय अझै गतिमा आउन नसकेको बताए। दाहालले प्रधानमन्त्री शेरबहादुर देउवा लोकतन्त्रप्रति प्रतिबद्ध भएका कारण निर्वाचन समयमै भएको बताए। उनले वागमति प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रि हुदा यस यस क्षेत्रका पूर्वाधार निर्माणका लागि करोडौं रकम भित्र्याएको बताए।
५ वर्षको अवधिमा सबैको घर बस्तीमा जान नपाए पनि जनताकै पक्षमा काम गरिरहेको दाबी गरे । दाहालले अहिलेको गठबन्धन ५ वर्षसम्म रहने बताए । राष्ट्रियता र संविधानको रक्षाका लागि साझा गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै टोल टोलबाट लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
दाहालले समाजमा जोडिएको प्रवृत्तिको अन्त्यका लागि नेता सच्चिएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै ५ वर्षको अवधिमा गल्ती कमजोरीलाई अब नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरे । राजनीति भनेको गरिबको जीवनस्तर उकास्न गरिने बताउँदै विजयी भएपछि जनताको मतको कदर गर्ने बताए ।
त्यस्तै भेलामा नेकपा माओवादी केन्द्र का वागमति प्रदेश सचिवालय सदस्य , चितवन जिल्ला सह ईन्चार्ज रामध्वज डल्लाकोटी, नेकपा माओवादी केन्द्र बाट बागमति प्रदेश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा (सुमन) लगायतका नेताहरु सहभागी थिए ।





















