दमौली। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिको नयाँ यात्रा सुरु गर्ने लक्ष्यमा वर्तमान गठबन्धन रहेको बताएका छन्।
तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेमा आज आयोजित सत्ता गठबन्धनको कोणसभामा उनले नेपाललाई नयाँ युगमा लैजाने संकल्पसहित गठबन्धन निर्माण भएको बताए।
‘यस पटकको निर्वाचन सामान्य हुनेछैन, यो निर्वाचन नेपालको इतिहासमा विशेष महत्त्व राख्ने निर्वाचनको रूपमा सम्पन्न हुँदैछ,’ प्रचण्डले भने।
संविधानसभाबाट संविधान बनेपछि र त्यो संविधानअनुसारको सरकार बनेपछि अब स्थायित्व र विकासको यात्रातिर नेपाल लाग्नेछ भन्ने सोचे पनि घटनाक्रम त्यसरी विकसित नभएको उनको भनाइ थियो।
‘घटनाक्रमको विकास लामो संघर्षबाट उपलब्धि प्रहार गर्नेतिर भयो, जसलाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्यौं, उहाँले नै संविधानमाथि प्रहार गर्ने काम गर्नुभयो,’ प्रचण्डले भने। तीन वर्ष पुग्दा नपुग्दा प्रतिगमनको विरुद्ध, संविधानको रक्षा, जनताको अधिकार रक्षाका निम्ति सडकमा जानुपर्ने अवस्था आइलागेको भन्दै उनले जनताको प्रयासकै कारण गठबन्धन स्थापना भएको बताए।
उनले नेकपा (एमाले) लाई नैतिक दृष्टिकोणले भोट माग्ने अधिकार नभएको बताए। ‘संसद् विघटन गर्ने, पार्टी विभाजन गर्ने र अधिकार खोस्नेलाई के भनेर भोट दिने, संविधान च्यात्नका लागि मत चाहियो ? भनेर प्रश्न गर्नुपर्ने बेला आएको छ,’ प्रचण्डले भने।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अग्रसरतामा गठबन्धन निर्माण भएको भन्दै उहाँ देशको कार्यकारी भूमिकामा पुग्न सक्ने व्यक्ति भएको उल्लेख गरे।
‘पौडेललाई धेरै मत दिएर जिताउनुस् त्यो सम्भावना बढ्यो, बढ्यो, बढ्यो,’ अध्यक्ष प्रचण्डले भने।





















