चितवन। चितवन क्षेत्र नम्बर-३ का उम्मेदवार तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले प्रतिगमनकारीहरुनै अग्रगामी भन्दै हिडेको आरोप लगाएका छन्।
भरतपुर–१४ शिवनगरस्थित शिवशक्ति युवा क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा उनले देशलाई विदेशीलाई सुम्पिन तयार हुने नेताहरु आँफूलाई अग्रगामी भन्दै हिडेको टिप्पणी गरेका हुन्।
उनले पहिचान र परिवर्तनको राजनीति भन्दै भाषण गर्नेहरुकै कारण देश संकटमा पुगेको दाबी गरे। उनले देशलाई षड्यन्त्रकारीहरुको कब्जाबाट मुक्त गर्नुपर्ने खाँचो रहेको बताए।
‘सिद्धान्तको प्रशिक्षण दिनेहरुले अहिले फलानो पार्टीलाई भोट दिनु भनेर निर्देशन दिन थालेका छन्, जनतालाई पार्टीको सिपाही बनाएका छन्’, पूर्वमन्त्री पाण्डेले भने, ‘न्यायप्रेमि जनताहरु अब जाग्नुपर्छ, पार्टी होइन, देश बचाउने र विकास ल्याउने नेताहरुलाई जिताउन लाग्नुपर्छ ।’ उनले जनताले तिरेको कर देश विकासमा भन्दा बढी सांसदहरु मन्त्रीहरु पाल्न लगानी भएको जीकिर गरे।
‘गाउँ, वस्तीमा विकास ल्याउन बजेटले पुग्दैन, आयोजनाहरु ल्याउनुपर्ने अवस्था छ’, उनले भने, ‘दातृनिकायबाट ठूला आयोजना माग गर्नुपर्ने अवस्था छ, संकलित कर जति सबै सांसद, मन्त्रीलाई सेवा सुविधाका लागि खर्च भइरहेको छ।’ उनले संघीय र प्रदेश सरकार बनाउन चुनाव पहिल्यै गठबन्धन गरेर झुटा आश्वासन बाँड्दै जनता झुक्याउने काम भैरहेको तर्क गरे।
‘किसानका खेत खेतमा प्राविधिक पठाउने, उत्पादन बढाउनेतर्फ ध्यान दिनै सकेनन्’, उनले भने, “पश्चिम चितवनलाई कृषि हब बनाएर सोही अनुसार किसानलाई प्रोत्साहन गर्न सके देशलाई पुग्ने उव्जनी फलाउन सकिन्थ्यो।’ उनले विश्वले विकास हेर्न आउने क्षेत्रका रुपमा चितवन–३ लाई विकास गर्न सकिने सम्भावना रहेपनि सहि पात्र सांसद नबन्दा अवसर गुमिरहेको बताए।
‘देश, विदेशमा विकास निर्माणको काम गरेको अनुभव मसँग छ, विकासको प्लान ल्याएको छु’, राप्रपा उपाध्यक्ष पाण्डेले भने, “यस पल्ट सांसदमा निर्वाचित भएमा जनताले सधै सम्झिने गरेर काम गरेर देखाउनेछु ।’ उनले जनताहरु अन्याय, वेथितिविरुद्ध मंसिर ४ मा मतदान गर्ने विश्वास लिएको बताए।
उनले राष्ट्रहित विपरित सम्झौता गर्न खोज्नेहरुलाई खबरदारी गर्न देशभरबाट राष्ट्रवादीहरुले चुनाव जित्नुपर्ने आवश्यकता रहेको बताए।





















