चितवन / आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा चितवनको क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभा निर्वाचनमा काँग्रेसबाट बागी उम्मेदवारी दिएका दिनेश कोइरालाले आफ्नो ३० वर्षको राजनीतिक इतिहासमा कठोर निर्णय लिन बाध्य भएको बताएका छन् ।
कोइरालाले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै आफूले राजनीतिमा प्रवेश गर्दा देखेको उद्देश्य पुरा हुन नसक्दा अहिले उम्मेदवारी दिन बाध्य भएको बताए ।
“जुन दिन मैले मेरी आमा गुमाएको थिएँ, त्यो दिन म त्यति रोएको थिइनँ जति म आज रुँदैछु । किनकी म आज गम्भीर मोडमा उभिएको छु”, उनले भावुक हुँदै भने, “नेपाली काँग्रेसको गढ भएको चितवनमा जसले धन सम्पत्ति लिएर आयो उसलाई बोकेर हिड्नुपर्ने अवस्था आएको छ । कहिले माओवादीलाई बोक्नुपर्ने, कहिले उसैको सम्पूर्ण परिवारलाई बोक्नुपर्ने । परिवार आएन भने खराउ पनि बोकेर हिड्नुपर्ने मेरो अन्तर्हृदय मानेन । दास बन्नुभन्दा पार्टी भन्दा माथि उठ्ने सोचेँ ।”
कोइरालाले पार्टीको केन्द्रीय सदस्यको पद पिँजडाको सुगा जस्तो भएको उल्लेख गरे । “पार्टीभित्र बोल्छु कसैले सुन्दैन, एजेन्डा लागू गर्न सक्दिनँ”, उनले सुनाए, “केन्द्रीय सदस्य पदमा बसेर बाहिर गएर जे पनि बोल्न मिल्दैन । त्यसैले मैले गम्भीर निर्णय गरे ।”
उनले आफ्नो उम्मेदवार बागी नभएर मूलधार नै भएको जिकिर गर्दै ‘चितवनमा काँग्रेस बचाउनुपर्छ, रुखमा भाट हाल्न पाइएन’ भन्ने नेता कार्यकर्ताहरूले आफूलाई जिताउने दाबी गरे ।
“हामी न बागी हौं न विद्रोही । हामी नेपाली काँग्रेसको मूलधार हौ । हामी यो समाजको पनि हामी हौं”, उनले भने । उनले काँग्रेसका धेरै नेताहरूले पनि समर्थन गरेको बताउँदै माओवादीले पनि आफूलाई समर्थन गर्नुपर्ने उल्लेख गरे । “विगतमा नेकपा माओवादीमा पनि मेरो लगानी छ । मलाई धेरै चोट पुगेको छ । उहाँहरूले मलाई साथ दिनुहुनेछ र धन्यवाद दिन पाउनुहुनेछ”, उनले भने ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी अभियानको समर्थन खोज्न बालकोट पुगेको पनि उनले स्वीकार गरे । “हाम्रो रक्तपातविहीन क्रान्ति अभियानलाई सहयोग गरिदिनू भनेर सम्पूर्ण दलहरूलाई हामीले आग्रह गरेका थियौं । त्यहिँ क्रममा नेकपा एमालेका साथीहरूले तपाईँलाई हाम्रो साथ छ भन्नुभएको छ”, उनले भने ।
चुनावमा समर्थन गरेकै आधारमा एमाले प्रवेश गर्ने अफवाह फैलाएको भन्दै उनले आपत्ति समेत जनाए । “मैले एमाले जाने कुरा त छाड्नुस् उच्चारण मात्रै गरेको भए मेरो सन्तानको सत्य नास होस् । यस्तो कपोकल्पित आधारहीन कुरा नगरिदिनुहोला । म हिजो पनि काँग्रेस थिए र जीवन र मरणको दोसाँधमा पनि म काँग्रेस नै हुनेछु ।”
नेपाली काँग्रेसका अर्को असन्तुष्ट पक्ष ‘भुइँकटहर समूहका’ जगन्नाथ पौडेल समूहसँग पनि आफूहरूसँग मिलेर जाने उनले दाबी गरे । “अझै एक महिना बाँकी छ । जो इमान्दर र काँग्रेस बचाउनुपर्छ भनेर लागेका छौं हामी सबै एक भएर जानेछौं”, उनले भने ।





















