काठमाडौं । अर्थ मन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयमा व्यपारीहरूसँग भएको छलफलमा बोल्दै मन्त्री शर्माले अर्थ सचिव र राजस्व सचिवलाई कार्यविधि सहज बनाउन निर्देशन दिएका हुन् ।
अर्थ मन्त्री शर्माले मूल्य अभिवृद्धिकै आधारमा निर्यात अनुदानको व्यवस्था गरिने पनि बताए । मन्त्री शर्माले निजी क्षेत्र सरकारको एक साझेदार नै भएकाले उसका समस्याहरूको समाधान गर्ने उपायको खोजी जसरी पनि गरिने उनको भनाइ छ ।
छलफलमा बोल्दै उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले बजेटमा व्यवस्था गरिएको निर्यातमा नगद अनुदानको व्यवस्थाले उद्योगी तथा व्यवसायीलाई उत्साहित गरेको बताए । जुत्ता, छड तथा सिमेन्ट क्षेत्रकै निर्यात क्षमता करिब ३ खर्बको रहेको भन्दै गोल्छाले त्यसको ५० प्रतिशत मात्र निर्यात गर्न सके पनि मुलुकको व्यापार घाटा धेरै हदसम्म न्यूनिकरण गर्न सकिने बताए ।
उनले जुन मूल्यमा बिजुली भारत निर्यात भइरहेको छ सोही मूल्य बराबरमा मुलुकका उद्योगहरूले पाएमा उत्पादन लागत घटाउन मद्दत पुग्ने समेत बताए ।





















